Tuesday, April 1, 2014

वहकिने मन (२०७० असोज १४)

दुःख कस्तो हुन्छ भन्ने परेपछि थाहा हुन्छ ।
हाँस्दा हाँस्दै आँशुधारा झरेपछि थाहा हुन्छ । ।
को आफ्नो को बिरानो गाह्रो हुन्छ छुट्याउन
मनमा बसी मनमै घात, गरेपछि थाहा हुन्छ । । ।

((((((((((रात छटपटी मै बित्छ, विहान हाँसेर के भो र ))))))))))))))))))))

हो, जीन्दगी यसैगरि धेरै पटक बे अर्थको बनिरहेको हुन्छ । हामी कत्तिपटक बुझ्दैनौँ अनि कत्तिपटक नबुझेझैँ गर्छौँ । त्यसैले पनि जीन्दगी कहिलेकाहीँ सपनाको पर्खालहरु गल्र्याम्गुर्लुम भत्काएर अघि हुत्तिन्छ, ९० सालको भुकम्प दोहोरिए जस्तो । 

हामी बाह्रमासे रमिते झैँ ट्वाल्ल हेरिरहन्छौँ मात्रै । अझ यसो भनौँ, हेर्न वाध्य भइरहन्छौँ मात्रै । चाहेर पनि केही गर्न सक्दैनौँ, कहिलेकाहीँ मध्यरातमा ऐठन हुँदा थाहा पाएर पनि केही गर्न नसके जस्तो । बेस्सरी चिच्याएपनि कसैले नसुन्ने, बल गरेर हात खुट्टा चलाए पनि डेग नचल्ने ।

कहिलेकाहीँ यसो सोँच्नुपर्छ, सँसार उजाड उजाड लाग्न थाल्छ, चैतमा सब्बै पातहरु सुकेर झरेको सालको रुख जस्तो । जीन्दगी के हो भन्ने बुझ्नको लागि यहाँ धेरैले घरबार छोडेर विरक्तिएर हिँडेका छन् । अनि धेरैले विरक्तिएर हिँडेपछि जीन्दगी के हो भन्ने खोजी गर्न थालेका छन् । 

फेरी पनि यी दुवैथरि मान्छेहरु कोही जोगी भएका छन्, कोही फिरन्ते भएका छन् । तर कोही पनि जीन्दगीको परिभाषा फेला पार्न सकेर पारगंत भने भएका छैनन् । हो यही सोँचेर मन बुझाउनुपर्दो रहेछ कहिलेकाहीँ । कहिलेकाहीँ आफु सफल हुन नसक्नुको पिडा अरु असफल भएको उदाहरण हेरेर पनि कम गर्नुपर्दो रहेछ, जसोतसो थुम्थुम्याउनु पर्दोरहेछ मन । 

अनि हाम्रो यो मन फेरी, यति धेरै खेलाँची गरि टोपल्दो रहेछ की, थुम्थुम्याउँदा बुझे जस्तै गरिदिने, छोड्यो फिटिक्कै नबुझ्ने । पहिलेको झैँ अनेकन कुराहरुमा करकर गर्न थाल्ने, दशैँ नजिकिँदै गर्दा नयाँ लुगा किनिदिनु भन्दै खुन्खुन् गरिरहने केटाकेटी जस्तो ।
मैले कुनै समय लेखेको थिएँ,

खुशीहरु अन्तै बन्धकी जस्तो ।
जीन्दगी पनि छैन जीन्दगी जस्तो । ।

हो, जीन्दगी पनि छैन जीन्दगी जस्तो । जसरी खेतको बीचमा मान्छे जस्तै बनेर ठिङ्ग उभिन्छ बुख्याँचा, ठीक त्यसरी नै जीन्दगी जस्तै बनेर तेर्सिन खोज्दैछ जीन्दगी । तर पनि छेउटुप्पो मिलेको छैन र त जीन्दगी पनि छैन जीन्दगी जस्तो ।

कहिलेकाहीँ यो समयले पनि निक्कै नै अन्याय गरिरहन्छ जीन्दगीलाई । अनावश्यक ताजहरु पहि¥याइदिन्छ, अडमिल्दो सम्बन्धहरुको रङ्गले सिङ्गारिदिन्छ । तत्क्षण त गद्गद् होला मन, खुब खुशी लाग्ला आफैलाई । तर समय बित्दै जाँदा तिनै सम्बन्धका रङ्गहरु क्रमश क्रमश खुइलिन थाल्छन्, व्यापारीले विश्वास दिलाएर बेचेको लुगा जस्तो ।

मलाई आफ्नै ठानेर गल्ती ग¥यौ ।
पत्थरलाई देउता मानेर गल्ती ग¥यौ । 
जे थिएँ हिजो, त्यहीँ खुशी थिएँ
धुलोलाई आकाशमा तानेर गल्ती ग¥यौ । । ।

(((((((((((म त सोझो साझो मान्छे, नबनाउ भनेथेँ देउता)))))))))))))))))

जीन्दगी भनेकै सपना देख्नका लागि त हो नि । मज्जाले देख्नुपर्छ सपना । सपनाको गोदाममा खाँदाखाँद गरेर सपनाहरु नै राख्नुपर्छ । अनि ग्राहक भेटिए बोराका बोरा सपनाहरु नै बेच्नुपर्छ पनि । 

सपनाको सँसार अर्थशास्त्रमा मुल्य र मागबीचको सम्बन्ध जस्तो हुँदैन, मुल्य बढ्दा माग घट्ने, मुल्य घट्दा माग बढ्ने । बरु यो त माग र पुर्तिको सम्बन्ध जस्तो पो हुन्छ त, माग पनि बढ्ने पुर्ति पनि बढ्ने । हो, सपनाको सँसार पनि यस्तै हुन्छ । 

जति सपना देख्न थालिन्छ, उति बिछट्टै भिन्दै लाग्न थाल्छ जीन्दगी । रमाईलो लाग्न थाल्छ । नभएको चिज पाए जस्तो लाग्ने मात्रै हो र, गुमाएको चिज फेरी फेला पारेजस्तो पनि अनुभुत गराउँछ सपना देख्ने बानीले ।

सपना देख्नु पनि अमेरिका जाने डिभि भरेजस्तै त हो नी । देख्नेहरु धेरै हुन्छन्, पूरा गर्नेहरु एकादुई मात्रै । त्यसैले देखिएका सब्बै सपना पूरा हुनैपर्छ भन्ने पनि त होईन । कसैले भन्थ्यो, सपना र चिट्ठा एउटै हो, यसको अर्धकट्टी अरुसितै हुन्छ हामी जीवनभर त्यही अर्धकट्टी खोजिरहेका हुन्छौँ ।

मान्छेहरु भन्छन्, जीन्दगी यात्रा हो । यो यात्रामा कुनै मोडहरुमा केही सम्बन्धहरु जोडिन आईपुग्छन् । जब ती सम्बन्धहरु जोडिन्छन् त्यतिबेला बेग्लै खालको रमाईलो लाग्छ, यदि त्यो प्रेमको सम्बन्ध हुन्छ भने । तर एउटा अर्को सत्य चाहीँ के पनि हो भने सबै प्रेमहरु दिगो हुँदैनन् । 

सबैले सँधै निको मात्रै गर्छन भन्ने पनि होईन । केही मान्छेहरु त यस्ता पनि हुन्छन्, जो जीन्दगीको केही समय प्रेम गरेर बिताउँछन् अनि बाँकी चाहीँ त्यसैलाई सम्झिएर । त्यतिबेला जीन्दगी कटाउने बाहाना बन्छ हिजोको प्रेम ।

जीन्दगी ठ्याक्कै के हो ? भनेर ठोकुवा गर्न त नसकिएला । तर मलाई लाग्छ जीन्दगी केही प्राप्ती पनि हो अनि केही त्याग पनि हो । समग्रमा सम्झौता पनि हो जीन्दगी भन्दा अझ बढी सहज होला । सायद त्यसैले पनि तारादेवीले गाउनुभएथ्यो, 
सोँचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन ।
जस्तो भोग्योे उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन । 

यही त हो जीन्दगी बाँच्ने प्रक्रिया ।
मलाई लाग्छ, मलामी गएर फर्किएको मान्छे जति भावुक अरु कोही पनि हुँदैन होला । किनभने एकपटक “जीन्दगी भन्नु के नै पो रै छ र ” भन्ने राम्ररी बुझेको हुन्छ त्यो मान्छेले । बाँचुञ्जेलको लुछाचुँडी, हानथाप सबै व्यर्थ रै छ भन्ने आफ्नै अगाडी देखेको हुन्छ ।

भावुक त विछोड व्यहोरेको व्यक्ति पनि हुन्छ, उसले पनि प्रेम भन्नु के नै पो रैछ र भन्ने राम्ररी बुझेको हुन्छ । सम्बन्ध रहुञ्जेलको लगाव, आत्मीयता सबैअ बेतुकको त रै छ नी भन्ने अनुभुत गरेको हुन्छ । तर पनि भावुकतामा केही फरकपनहरु भने अवश्य नै भेट्टिन्छन् ।

यात्राबाट एउटा मान्छे कम भएको छ ।
सम्झनामा उही धमाधम भएको छ । ।
छ न त एउटा बाँच्नैपर्ने जीवन
त्यो पनि त हिजोआज खत्तम भएको छ ।

(((((((((((((म त जिउँदो मुर्दा भएछु, बाँच्नुको अर्थै भएन ))))))))))))))))))))))))))

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget