Tuesday, April 1, 2014

वहकिने मन (२०७० मंसिर १७)

सँगै बाँच्न थालेको नी वर्षौँ भइसकेछ । 
इच्छा पूरा भन्दा बढी यसै रहिसकेछ । ।
म त उमेर बाँकी नै छ भन्ने सोँच्दै थिएँ
आफ्नै अघिल्तिरबाट, जवानी गइसकेछ । । ।

(((((((((((तिमी भयौ बुढी पिपल))))))))))))))))

नानीकी आमा, अचेल आफन्तका घरबाट विहेको निम्तो लगातार आउन थालेदेखी अनि छिमेकीका छोराछोरीको विहेले टोल नै दिनहुँ रमाउन थालेदेखी वर्षौँ पहिले तिमीलाई बेहुली बनाएर आफु वेहुलो बनेको दृश्यहरु मेरो आँखै अघि ठोक्किन आइरहेका छन् । हिजोको जवानी आफ्नै आँखा अघिबाट हाँसेर जाँदै गरेको प्रष्टै देखिराछु म । 

अनि पो बल्ल सोँचे मैले, हामीले एउटै छानो मुनि जीन्दगी बाँच्न थालेको पनि बर्षौँ भइसकेछ है । हरेक दिन घाम उदाउँथ्यो, अस्ताउँथ्यो । साँझ पथ्र्यो, विहान हुन्थ्यो । हामी पनि त्यही घामको जस्तै एउटै दिनचर्या बिताइरहन्थ्यौँ । 

पत्तै भएन, समय त कति छिट्टै पर पुगिसकेछ । यत्ति सम्मकी आमा बुबाबाट हजुरबा हजुरआमा बनिसक्दा पनि हामीलाई उमेरले उछिनेको भेउ पाउनै सिकेनछौँ हामीले । कस्तो अचम्म है ।

पहिले कसैकी छोरी मात्रै थियौ तिमी, म सँगको आजीवन अनुबन्धले कसैकी श्रीमती भनेर चिनियौ अनि समयले क्रमश अर्को परिचय पनि थपिदियो तिमीलाई, नानीकी आमा । छोरी देखी आमासम्मको तिम्रो यात्रामा म धुरी खाँबो बनेर उभिएँ । 

त्यसो त कत्तिपटक मैले आफ्ना विचारहरु लादेँ हुँला तिमीमा । जबर्जस्ती आफ्नै निर्णयमा सहमत गराएँ हुँला तिमीलाई । अनि पुरुषप्रधान देशको हवाला दिँदै लोग्ने हुनुको अधिकार मागेँ हुँला तिमीसँग । फेरी पनि तिमी भने भित्रभित्रै आगो झैँ राप बोकेर बाहिर हिमाल झैँ उभिरह्यौ ।

कहिलेकाहीँ मेरो एकोहोरो जिद्दीपनाले आफ्नै जीन्दगी सिलसिला नमिलेको अनुच्छेद जस्तो पनि लाग्यो होला तिमीलाई । सँगै बितेका समयहरु पनि यदाकदा कागजका पानाहरु जस्तै असरल्ल छरिए होलान् । तरपनि तिमी भने सबै चुपचाप सहँदै ओथारो दिएको कुखुरा जस्तै भइदियौ, पल्लो घरको अण्डा दिँदा पनि सहजै कोरलिदिने । 

तिम्रै कारण मैले जीन्दगी बाँच्न जानेँ । तर दुखको कुरा नारी भित्र त्यस्तो के छ जस्ले गर्दा जस्ता दुख कष्ट पनि सहजै सहन सक्छन् उनीहरु भन्ने चाहीँ झनै बुझ्न सकिनँ, त्यो पनि तिम्रै कारण । जबजब तिमी मेरा दुखहरुमा हस्तक्षेप गरेर आफै सोहोथ्र्यौ नी हो त्यतित्यति बेला म भित्रभित्रै मुर्छा परेर रुन्थेँ ।

अहिले विवाह गरिरहेका नव जोडीहरुलाई देख्दा म पनि हाम्रो बेला सम्झिन्छु । हिजो हामीले पनि धेरै सपना सजाएका थियौँ । हाम्रा छोरा छोरी हुनेछन्, तिनीहरुलाई धेरै पढाउनेछौँ, राम्रो जागीर खानेछन् तिनीहरुले, अनि धुमधामसँग विहे गरिदिनेछौँ । त्यसपछि आफुले जागीर छाडेर बुढेसकालमा ती नै नाती नातिना खेलाएर हाँसीखुशी बस्नेछौँ । 

हो, यस्तै यस्तै अनेकन सपनाहरु देखेका थियौँ हामीले । मैले त पहिले पनि भनेको थिएँ तिमीलाई, के भर छ र..भोली यिनीहरुले हाम्रो वास्तै नगर्ने पो हुन् की भनेर । त्यतिबेला तिमीले नै भनेकी थियौ, सन्तान हाम्रै हुन् कहाँ त्यस्तो हुन्छन् र भनेर ।

कहिलेकाहीँ त यसो जीन्दगी सम्झैयौ साह्रै दुख लागेर आउँछ बाबै । मान्छे कहिल्यै पनि सुखी हुन पाउँदो रहेनछ । सुखी हुन खोज्दा खोज्दै जीवन निभ्ने बेला आइसक्दो रहेछ । ''१२ छोरा १३ नाती बुढाको धोक्रो काँधै माथी'' भन्थे जिम्दार काकाले हो रै छ ।

खै कस्ले बनाको हो, नीति यस्तै नै छ ।
हाम्रो मात्रै हैन, सबको स्थिति यस्तै नै छ । ।
छोरा भएपनि अनि छोरी भएपनि
सबै टाढा टाढा जाने रीति यस्तै नै छ । । ।

((((((((((((((((((छोरा नाती कहाँ कहाँ))))))))))))))

यो बुढेसकाल भनेको नी साह्रै दिक्क लाग्दो पो हुँदोरहेछ नानीकी आमा । शरीरमा बल निख्रिँदै गएपछि आफ्नै छोराछोरी पनि टाढा टाढा हुँदै जाँदा रहेछन् । 

आखिरीमा बुढेसकालको साथी भनेका त हामी बुढाबुढी मात्रै त रैछौँ नी । परार रोगले सिकिस्तै हुँदा मलाई केही भइहालेको भए, तिमीले कति दुख पाउँथ्यौ होला भन्ने सोँच्दा आङै जिरिङ्ग भएर आउँछ ।

हाम्रो विहे भएको शुरु शुरुका दिनहरुमा आमैले तिमीलाई कत्ति धेरै दुख दिनुहुन्थ्यो है । सखारै उठेर घरधन्दा सकिसक्नुपथ्र्यो तिमीले । कहिले काहीँ त बनबाट घाँसको भारी लिएर आउँदा ढिँडोको माम्रीले मात्रै पनि भोक मेट्नुपथ्र्यो तिमीले । 

बिहे गरेको पहिलो वर्षमै नानी जन्मिँदा कत्ति धेरै खुशी भएका थियौँ हामी । मलाई भने कताकता लाज पनि लागिरहेको थियो, हिजोसम्म अल्लारे लाग्ने मान्छे आजबाट बुवा बनेको थिएँ म । तर केही आफन्तैहरुले भने छोरी पो जन्माइछे भन्दै खिसिटिउरी पनि गरेका थिए तिम्रो । 

कत्ति नरमाइलो मानेकी थियौ तिमीले त्यतिबेला । यदि आज जस्तो भइदिएको भए म छोरा र छोरीमा भेदभाव गर्ने ती आफन्त र गाउँलेहरुलाई मुखभरीको जवाफ दिन्थेँ । अनि छोरा छोरी के हुने भन्ने कुरा महिलामा नभएर पुरुषमा निर्भर हुन्छ भन्ने कुरा मज्जाले बुझाइदिन्थेँ म ।

कहिलेकाहीँ त तिमीलाई मैले आफ्नो जीन्दगीमा ल्याएदेखी सँधै आफ्नो दुख मात्रै बाँडिरहेँ की भनेर विस्मात पनि लाग्ने गर्छ । यत्रो लामो जीवन तिमीसँग एक इमान्दार पतीको रुपमा बिताएको मेरो विगतलाई धितो राखी आज माग्दैछु तिमीसँग थोरै शक्ति, जसको सहायतामा तिम्रा केही दुखहरु रोइदिन सकुँ म । 

भिन्दाभिन्दै पारिवारिक रहनसहन र सँस्कृतिबाट हुर्किएका हामी दुई जीन्दगीभर एउटै छानो मुनी रहिरहने प्रण गर्नु त्यति चानचुने कुरो चाहीँ थिएन । सायद त्यसैले पनि जीन्दगी सम्झौता हो भन्ने कुरो बारम्बार सम्झियौ होला तिमीले ।

नानीकी आमा तिमीलाई याद छ, वर्षौँ पहिले ठाउँठाउँमा चुहिने छाप्रोमा रात बिताएर गुन्द्रुकको झोल र निगुरोको साग सँग कनिकाको खोले खाएर बितेका दिनहरुमा निराश हुँदै मैले भनेको थिएँ तिमीसँग, यो सँसारमा हाम्रा कोही पनि रैनछन् बाबै, घाम लाग्दा पनि पानी पर्दा पनि सिधै टाउकामा पर्छ । 

त्यतिबेला मलाई सम्झाउँदै भनेकी थियौ तिमीले, जुध्नेले सँधै हार्दैन नानीको बा, एकदिन झुक्याएर पनि जित्छ, हार्दाहार्दैको अनुभवले उसलाई जिताउँछ । त्यति नै बेला हो मैले जानेको, एउटी श्रीमती , श्रीमती मात्रै नभएर आमा पनि हुँदोरहेछ ।

यी तिनै सन्तान हुन्, जसलाई आङमा बोकेर घोँडा बनी खेल्दा कत्ति धेरै खुशी हुन्थ्यौँ हामी । जतिबेला यिनीहरुको बोली फुटिसकेको थिएन त्यतिबेला पनि यिनीहरुलाई कतिबेला भोक लाग्छ, कतिबेला निन्द्रा लाग्छ भन्ने सजिलै बुझ्थ्यौँ हामी । 

तर अहिले ठुलो भइसकेपछि चाहीँ के सोँच्छन् यिनीहरु, के गरिरहेका छन्, केही बुझ्नै सक्दैनौँ । उनीहरु पनि हामीसँग आफ्नो जीवन बारे खुलेर कुरा गर्न चाहँदैनन्, सायद हामी पुरानो युगको भएर पनि हो की । उनीहरुलाई चाहिने सल्लाह दिन सक्दैनौँ हामी भन्ने सोँचेर पनि हो की । 

बुढो आँखा रुँदा आँशु, कस्ले पुछ्न सक्छ ।
नपुछेको आँशु आफै कहाँ सुक्न सक्छ । ।
आफ्नो भन्नेहरु सबै टाढा भएपछि
बुढेसकालमा दुखेको मन कस्ले बुझ्न सक्छ । । ।

(((((((((((((बरको भर पिपललाई, पिपलको बरलाई)))))))))))))))))))


1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget