Tuesday, April 1, 2014

वहकिने मन (२०७० श्रावण २१)

केही फोटाहरु छन् जलाउनुपर्ने ।
आँशु छन् सिरानी गलाउनुपर्ने । ।
यादहरु आउँछन् र जान्छन् पनि
गुजारा त्यसैले चलाउनुपर्ने । । ।

((((((((((((((भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, कर्णदास)))))))))))))))

कहिलेकाहीँ यस्तै तर्कनाहरु पनि आउँछन् मनमा । कि, भेटिएर छुट्नुभन्दा त नभेटिएकै भए हुन्थ्यो । मान्छेको एउटा स्वभाव हुँदो रहेछ । बरु त्यो कुरा नपाएकोमा त्यति चिन्ता हुँदैन, जति पाएर पनि गुमाउनुपरेकोमा हुन्छ । कुनै दम्पतीको सन्तान भएन भने जीन्दगीभर एकखाले चिन्ता त हुन्छ नै, तर यदि जन्मिएर पनि केही वर्षपछि मृत्यु भयो भने ती बाउ आमा पिडा सहन नसकेर मर्न पनि सक्छन् । 

एउटा गरीब मान्छे हरेक दिन छाक बेसाएर पनि बाँचिरहेको हामीले देखिरहेका छौँ तर क्यासिनोमा भएभरको सम्पत्ति हारेपछि त्यो सहन नसकेर आत्महत्या गर्ने धेरै धनी मान्छेहरुको समाचार सुनेका छौँ हामीले । अनि अर्को कुरा हामीले यस्ता धेरै पुरुषहरु देखेका छौँ जसले विवाह नै नगरिकन जीवन काटेका छन् । 

तर एकपटक विवाह गरेर छुट्टिएपछि वा श्रीमतीको मृत्यु भएपछि फेरी अर्को विवाह नगरिकन बस्ने पुरुष भने निक्कै कम देखेका छौँ । हो मान्छेको स्वभाव नै यस्तै छ, एक्लै हिँडिरहेको मान्छेलाई बरु जीन्दगी सहज लागिरहेको हुन्छ । 

तर जब यात्रामा साथ दिने कोही भेटिन्छन् अनि त बानी पर्छ सँगै यात्रा गर्ने । यदि त्यो साथ छुट्यो भने एक्लै यात्रा गर्न सक्ने अवस्था नै नरहन पनि सक्छ । यस्तैखाले अनुभवहरु बटुल्दै छु म पनि ।

आज त सोमबार । विहानै मन्दिर जानेहरुको ताँती मेरो टोलमा पनि थियो । सोँचेँ, सायद तिमी पनि यतिबेला कुनै मन्दिरको अघिल्तिर शान्तसँग दुवै आँखा चिम्लिएर अनि दुवै हात जोडेर उभिएकी हौली । अघिल्ला वर्षका साउनका सोमबारहरु पनि यस्तै सम्झिन्थेँ म । 

फरक यत्ति की, त्यतिबेला सम्झिँदा कुर्ता सुरुवाल लगाएर उभिएकी तिम्रो आकृति आँखामा आउँग्थ्यो, अहिले सम्झिँदा रातो सारी लगाएर उभिएकी तिम्रो तस्बीर आँखामा आउँछ । अनि सिउँदोमा सिन्दुर र गल्हामा मंगल सुत्र पनि हुन्छ तिमीसँग । सायद यसैलाई भनिन्छ क्यारे, समयले कोल्टे फेरेको भनेर ।  

मलाई थाहा छ, समय सँधै एकनास रहँदैन । हिजोकी तिमी र आजकी तिमीमा परिवर्तन हजार भए होलान् । तर पनि, मेरो मन भन्छ, की आजपनि उसैगरि हातभरि हरिया चुरा लगायौ होली, हत्केला भरि मेहेन्दीले रङ्गायौ होली अनि सखारै महादेव थानमा पुगेर केही माग्यौ होली । 

वर्षौँ अघि साउनको एउटा सोमबार मन्दिरबाट फर्किँदै गरेकी तिमीलाई मैले ढिपी गरेथेँ, रामभक्त जोजिजुले गाएको गीत गुन्गुनाउँदै....

“के बर मागी फक्र्यौ भन, तिम्ले पुज्ने देवता सित ।
दुनियाँलाई नभने नि भन्न हुन्छ एउटा सित, भन्न हुन्छ एउटा सित ।” भन्दै ।

त्यतिबेला कुनैदिन भन्ने वाचा गरेकी थियौ तिमीले । तर त्यसपछि न मैले नै सोध्ने अवसर पाएँ, न तिमीले नै जानेर वाचा पूरा गर्यौ । फेरी पनि तिमीले पनि अरुहरुले जस्तै सोमबारे ब्रतको दिन तिम्रो भगवानसँग योग्य पती पाउँ भनी वर मागेकी थियौ की भन्ने लख काटेको थिएँ मैले । 

अनि मनमनै ढुक्क भने थिएँ, तिमीले मागेकी योग्य बरको मापदण्डहरु म मा निहित छन् भनेर । तर खै कुन्नी तिम्रो भगवानले मलाई योग्यताको प्रमाणपत्र दिने झन्झट व्यहोर्नुभन्दा बरु योग्य व्यक्तिकै जीवन रेखामा तिमीलाई उभ्याइदिनु सहज ठानेछन् क्यारे । 

त्यसैले पनि समयको छालद्वारा पाखैमा हुत्याइएँ म । त्यतिबेला सोचेथेँ, “सोमबारे ब्रत बस्नेतहरुले योग्य बर पाउँ भनेर माग्नुको सट्टा मलाई माया गर्ने अहिलेकै मान्छेलाई योग्य बनाइदिनु भनेर किन माग्दैनन् होला ???” यही दिग्भ्रमित मनले त्यतिबेला तिमीलाई स्वार्थी मान्छेको पगरी गुथाइदिएथेँ, मलाई माफ गर्नु ।

मलाई कसैले भगवान भन्थ्यो ।
अँगालो स्वर्गै समान भन्थ्यो । ।
जे थियो हिजो, त्यो पो त जीन्दगी
कसैले त मेरो जवान भन्थ्यो । । ।

(((((((कति मिठा कति नमिठा बातभित्र भुल्यौँ हामी)))))))))))))))))))))

सपनाहरु भत्किन्छन् पनि, भताभुङ्ग हुन्छन् कहिलेकाहीँ । अनि हामी भने त्यही भत्किएको सपना पनि फेरी बारबेर गरेर जीन्दगी गुजार्न खोज्छौँ । टालटुल गरेर दिनहरु तन्काउन खोज्छौँ, अनि छोपछाप गरेर वास्तविकता लुकाउन खोज्छौँ । 

सबै चकनाचुर भइसकेर पनि केही नभएजस्तो । केही पाउनकै लागि जन्मिए जस्तो अनि कहीँ पुग्नकै लागि दौडिएजस्तो । कहिलेकाहीँ त लाग्छ, फगत बाँच्नकै लागि बाँचिरहेका त छैनौँ हामी ?

विहान उडेर गएको एउटा चरा रमान घुमेर पनि बेलुकी बास बस्न पुरानै गुँडमा आईपुग्छ । तर मान्छेको मन भने एकपटक गएपछि फर्किएर आउँदैन, बरु त्यतै बास मागेर सुस्ताइदिन्छ । भोलपल्टदेखी खाँबो गाड्न त्यहीँ खाल्डो खन्न थाल्छ । तरपनि पुरानो ठाउँ सम्झिने मन गर्दैन । 

बडो अचम्म छ मान्छेको मन । पत्ता लगाउनेहरुले आफैलाई भुलेर बाहिर बाहिर खोजी हिँडेर मात्रै हो, नत्र चाइनाको ग्रेट वाल, भारतको ताजमहल, मिश्रको सभ्यता आदिलाई सार्तौँ आश्चर्यभित्र सुचिकृत गर्नेहरुले पहिलो आश्चर्य चाहीँ मान्छेको मन हो भनेर घोषणा गर्ने थिए ।

यसरी झमझम् झरी परिरहँदा म आज पनि उसैगरि तिमीलाई सम्झिरहेछु, जसरी यसघिका वर्षेझरिहरुमा सम्झिन्थेँ । मज्जाले वर्षाहुँदा मन भुरुङ्ग बनाउने किसान जस्तै म पनि एकखाले किसान नै थिएँ, आफ्नोपनको गह्राहरुमा भावनाहरुको खेती गरेर आत्मीयताको बाली भित्र्याउँथेँ । तर एक साल खडेरी पनि यसरी पर्यो की, माया बगि आउने कुलेसोहरु पटपटी फुटे, अनाजहरु यसै डढेर गए । 

अनि त ओत लाग्ने छानो र पेटभर्ने मानोको समस्याले अचेल मालिककोमा हलि बसेको छु । काम त अहिले पनि पहिले जस्तै गर्छु, फरक यत्ति छ कि अचेल अरुको लागि गर्छु । अरुको लागि गर्ने मान्छे किसान हुँदोरहेनछ, हलि हुँदोरहेछ, मात्र हलि । पहिले वहकिने गर्थे, अहिले वहकाउने गर्छु । यत्ति हो फरक ।

अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई मेरो छोरा यस्तो होस् भन्दै लेखेको पत्रमा यसो पनि भनेका थिए, दिल खोलेर हाँस्दाहाँस्दै गम्भीर हुनु कति जरुरी छ भनेर सिकाइदिनु उसलाई । 

अनि रोदनमा पनि हाँसो हुन्छ, रुन मन लाग्दा कहिल्यै पनि नलजाउनु, न हिच्किचाउनु भनेर सिकाइदिनु पनि भनेका थिए । हुन त यो पत्र लिंकनले आफ्नो छोरालाई यस्तो सिकाउनु भनेर प्रधानाध्यापकलाई पठाएका थिए क्यारे । तर जब स्कुले जीवनमा मैले पनि पढेँ अनि त आँशुभित्र पनि कसरी हाँसो हुँदो रहेछ भनेर जान्न मन लागेको थियो । 

सरलाई सोधेको पनि थिएँ तर उहाँले गृहकार्य नगरेर स्कुल आउँदा पिटाइ खाइयो भने त्यतिबेला त आँशु आउँछ तर भोलीदेखी गृहकार्य गर्ने बानी बस्छ र भोली पास भएर अर्को कक्षामा जाँदा हाँस्न पाइन्छ, आँशुभित्र हाँसो हुन्छ भनेको पनि त्यही हो भन्नुभएथ्यो । 

नढाँटेर भनौँ भने फिटिक्कै बुझिनँ मैले त्यतिबेला यो कुरा । सोचेथेँ, त्यो कसरी आँशुभित्र हाँसो भयो त ? बरु आँशुभन्दा धेरै टाढा पो हाँसो भयो नि । आँशु चाहीँ आजै अनि हाँसो चाहीँ रिजल्टको दिन मात्रै भन्ने सोँचेर चुप लागेथेँ त्यतिबेला । 

तर खुशीको कुरा भन्ने की दुखको, त्यतिबेला सरले सिकाउन नसक्नुभएको एउटा पाठ वर्षौँपछि निक्कै नै प्रष्टसँग सिकायौ तिमीले, प्रष्टैसँग बुझेँ मैले पनि । मलाई छोडेर जाने मान्छे, हो, तिमीले फलानोसँग विहे गर्दैछु म भनेर फैसला सुनाउँदा हो, म रोएको थिएँ, आँशुहरु असरल्ल पोखिएका थिए आँखाको झोलाबाट । 

तर भिइइइइत्रत्रत्रत्रत्रत्रत्रत्र भने कतै खुशीको लप्का पनि टाँसिएर बसेको थियो । कारण, त्यो निर्णयमा तिमी खुशी थियौ अनि तिम्रो खुशीमा म । हो त्यही दिन मगर्नी बज्यैको भट्टीमा राती अबेरसम्म बस्दा सिकेको थिएँ मैले, आँशुमा पनि हाँसो हुन्छ भन्ने कुरा ।

कथा हुन सक्दैन, कहानी हुन सक्दैन ।
कथा कहानी बिनाको जीन्दगानी हुन सक्दैन । ।
अब दुनियाँले यो बुझ्नु जरुरी छ
निधार ठुलो हुँदैमा भाग्यमानी हुन सक्दैन । । ।

((((((((((घाम डुब्दा छायाँ पनि आफ्नै साथमा हुन्न रै छ । )))))))))))))))))))))

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget