Tuesday, April 1, 2014

वहकिने मन (२०७० फागुन १९)

एउटै यात्रा हिँड्नलाई साह्रो हुन्छ, गाह्रो हुन्छ ।
एकलाई थकाई लागिरँदा अर्कोलाई चटारो हुन्छ । ।
चौतारीमा सुस्ताउँदा, बात मार्ने मान्छे भए
जे जे हुन्छ जीन्दगीमा, आखिर त्यही प्यारो हुन्छ । । ।

(((((((((तिमी अर्कै घरको मान्छे, स्वर हेमन्त शर्मा ))))))))))

म भन्दा अगाडी पनि तिमीले धेरै धेरै मान्छेहरु देख्यौ होला, मन परायौ होला, सायद माया पनि लगायौ होला । मैले पनि तिमीभन्दा अघि कैयौँ मान्छेहरु देखेँ, मन पराएँ, धेरथोर माया पनि लगाएँ । तर समयसँगै ती सबै, जसरी यात्रामा टुप्लुक्क गाँसिन आइपुगेका थिए त्यसरी नै चुँडिएर गए पनि । 

मैले सुनेको थेँ, श्रीमान श्रीमती त्यस्तो नजिकको सम्बन्ध हो, जसमा एकअर्कासँग लुकाउनुपर्ने  त्यस्तो कुनै कुरा हुँदैन रे । यदि भयो भने, सम्बन्धमा नै विचलन आउँछ रे । त्यसैले पनि केही नलुकाइ भनेको तिमीलाई । 

मान्छेहरु भन्छन् देखेको पाईँदैन, लेखेको पाईन्छ । सायद तिमी नै लेखिएकी थियौ क्यारे मेरो लागि । त्यसैले त धेरैपटक नदेखिए पनि तिमी नै आईपुग्यौ त मेरो यात्रामा, अनि म पनि तिम्रो यात्रामा । तिमी, तिमी भएर बाँचिरहेकी थियौ, म म भएर बाँचिरहेको थिएँ । तर अब तिमी र म मिलेर हामी भएर बाँच्ने यात्रामा सरिक भएका छौँ । 

यो ‘हामी’ भएर अघि बढ्ने कुरा जति सजिलो जस्तो लागेको छ, उति नै अफ्ठ्याराहरु पनि छन् । यतिका वर्षसम्म बेग्ला बेग्लै वातावरणमा भिन्दाभिन्दै अनुभव सँगालेर हुर्किएका तिमी र  म अब उप्रान्त एउटै छाना मुनी, अझ एउटै विछ्यौनामा अट्ने भन्ने कुरा त्यति सहज भने होईन । 

जीन्दगी बाँच्दै जाँदा अनेकन मतभेदहरु आउन सक्छन्, भिन्न भिन्न विचारहरु उत्पन्न हुनसक्छन् । कहिलेकाहीँ एकअर्कालाई अर्कोबाट लादिएको जस्तो पनि लाग्न सक्छ । आफु निरिह भएको जस्तो पनि लाग्न सक्छ । 

फेरी पनि जीन्दगी भनेकै सम्झौता हो, त्यसमा हस्ताक्षर गर्नैपर्छ जो सुकैले । सायद हामी पनि त्यही अलिखित सम्झौता पत्रको दुई पक्ष भएका छौँ, हस्ताक्षर कर्ता भएका छौँ । अनि समाजले परिभाषित गर्ने श्रीमान श्रीमती भएका छौँ । 

हाम्रो आनीबानी एकअर्काको आनीबानीसँग नमिल्न सक्छ, । हो त्यतिबेला सम्झौता गर्नुपर्नेछ हामीले । कहिलेकाहीँ तिम्रो मन दुख्न सक्छ मबाट, अनि कहिले काहीँ मेरो पनि तिमीबाट । 

त्यतिबेला एकअर्कालाई गुनासो गर्ने मौका दिएर गल्ती स्वीकार्न सक्नुपर्छ हामीले । 

अनि सबैभन्दा ठुलो कुरा त कहिलेकाहीँ अनाहकमै तिमीलाई अविश्वास गर्न सक्छु म, अनि मलाई पनि तिमीले । हो त्यतिबेला एकअर्कालाई बुझ्न सक्नुपर्छ हामीले । 

नत्र वैरीहरुले एकअर्कालाई अनावश्यक उकास्न पनि सक्छन् । सम्बन्धमा दरार आउन पनि सक्छ । यस्तै यस्तै उल्झनहरुमा सुझबुझपूर्ण तवरले जङ्घारहरु तर्नसक्नुपर्छ हामीले ।

आफ्नै जस्तो गरि नजिक आउनेहरु हुन्छन् ।
रामराम भन्दै पछि छुरा समाउनेहरु हुन्छन् । ।
हो, यस्तै बेला हामीमा विश्वास हुनुपर्छ
कोही बझाउनेहरु हुन्छन्, कोही जुधाउनेहरु हुन्छन् । । ।

((((((((((((((समाजले सय थरि कुरा काटिदेला))))))))))))))))))))

थाहा छ, आज औधी खुशी छु म । आफु स्वयम पनि अरु नै जस्तो लागिरहेछ आज मलाई । हिजोसम्मको म र आजको म मा पक्कै पनि धेरै भिन्नता भएको अनुभव गरिरहेको छु म । साँच्चै भनौँ, एकखाले रमाइलो लागिरहेछ मलाई । 

सानोमा बुवाले बजारबाट ल्याइदिएको नरिवल र मिस्री एकैसाथ चपाएर खाँदा जति रमाईलो लाग्थ्यो नी, त्यो भन्दा पनि कति हो कति रमाइलो लागेको छ । तिमी सँधै यसैगरि त्यो मिस्री झैँ गुलियो भइरहनु ल । म पनि त्यस्तै भइरहनेछु । 

यसैगरि सजाउनुपर्छ हामीले एउटा सुन्दर सँसार ।
तिमी अर्कै घरकी मान्छे, म अर्कै घरको मान्छे । सबैकुरा त कहाँ मिल्छ र । 

केही तिमीले सहनुपर्छ केही मैले सहनुपर्छ । यदि त्यसो भएन भने त कलह पैदा हुन्छ परिवारमा । सँधै यस्तै माया, यस्तै समझदारी होला नहोला । 

कहिलेकाहीँ त एकअर्काप्रति बेस्सरी रिस उठेर पनि आउला । फेरीपनि सम्हालिनुपर्छ हामीले ।
हाम्री आमा भन्नुहुन्थ्यो, श्रीमान श्रीमतीको झगडा भनेको त परालको आगो जस्तै हो रे बाबै, छिट्टै सल्किए पनि झट्टै निभिहाल्छ रे त्यो । 

बुवासँग कहिलेकाहीँ ठाकठुक पथ्र्यो रे उहाँको पनि । तर जब घरमा कोही छिमेकी आइपुग्थे नि, अनि उसले घरको झगडा थाहा नपाओस् भनेर बोलिहाल्नुहुन्थ्यो रे उहाँहरु । हामीले त्यस्तै गर्नुपर्छ ल ।

एउटा आगो बन्यो भने अर्को पानी बन्नुपर्छ रे । त्यो पनि आमाले नै भनेको । म यी सब कुराहरु किन पनि तिमीलाई भनिरहेछु भने, अब अगाडीको बाटोमा यस्तैयस्तै अनेकन उल्झनहरु खडा हुनेछन् हाम्रा लागि, जसलाई मिलेर सुल्झाउनुपर्छ हामीले । अब एउटै बाटोमा अघि बढ्ने भनेर यात्रामा सामेल भएका छौँ हामी । यो कहिल्यै नटुगिंने यात्रा हो । 

बरु हामी यात्रीहरु टुंगिएलाउँ तरपनि यात्रा अझै पूरा भएको हुँदैन । मलाई विश्वास छ अब हिजोको भन्दा पक्कै पनि सहज हुनेछ यो यात्रा हाम्रा लागि । थकाइ लाग्दा कतै टुसुक्क बसेर एकअर्काको पसिना पुस्दै मुस्कुराउँदा पनि औधी उर्जा मिल्छ, अगाडी बढ्न ।

हामी सुखी जीवन बिताउन सकौँला नसकौँला तर खुशी हुने प्रयत्न भने सँधै गररहौँला । कहिले आधि पेट भोको राखेर पनि निदाउनु पर्ला, कहिले पुरानै लुगामा पनि वर्ष बिताउनुपर्ला । 

कहिले हाम्रो दुख हेरेर मान्छेहरु हाँस्लान्, खिस्सी गर्लान । फेरी पनि हामी भने बेप्रवाह सँधै सँगै संघर्ष गरिरहौँला । जीन्दगीको रथ यसैगरि अघि बढाउँला अब ।

मिठो पिठो जे जे हुन्छ, बाँडी चुँडी खाउँला ।
झुत्रो झाम्रो लुगा पनि टाली टाली लाउँला । ।
जीवन भन्नु संघर्ष हो, सँगै गरौँला नी
लड्न लाग्दा एकअर्काको हात समाउँला । । ।
(((((((((((((सादा खाउँला, पुरानै लगाउँला))))))))))))))))

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget