Tuesday, April 1, 2014

वहकिने मन (२०७० पौष ८)

कोही आए जस्तो, कोही गए जस्तो ।
मनमा भएको छ प्रलय जस्तो । ।
जब टाढियौ तिमी, अनि यस्तो लाग्यो
सबै भएर पनि कोही नभए जस्तो । । ।

((((((((((कहिलेसम्म किन्दा रैछौ, स्वर : स्वरुपराज आचार्य)))))))))))))))

मैले सानैमा पढेँ, महाकविको मुनामदन । जब मदन भोट गए, फर्किँदा बाटैमा हैजा लाग्यो अनि साथीहरुले पनि छोडेपछि जङ्गलमा एक्लै परे । 

संयोगवश त्यतै भोटका एकजना भोटेदाईले उनलाई लगेर घरमै राखी सञ्चो बनाए । केही महिनापछि सञ्चो भएर घर फर्कन मन गरेका मदनले ती भोटे दाईलाई केही सुन दिनुपर्यो भन्ने सोँची यसो भने,

दुईटा मैला, सुनका थैला, बनमा गाडेको
यौटा हो तिम्रो, यौटा हो मेरो गुनले बाँडेको । ।

त्यो सुनिसकेपछि ,
भोटेले भन्छ , के गर्छ मैले पहेँलो सुनले ।
रोपेर सुन उम्रन्न क्यारे के गर्छ सुनले । ।
भोटेले भन्छ, मौकाले पायो त्यो गुन लाउन ।
गुनको सट्टा लिँदैन हामी सम्झेर जाउन  । ।

थाहा छैन, महाकविले मुनामदन लेखिरहँदा कस्तो भोटेदाईको कल्पना गरेका थिए । तर मैले भने ३ कक्षामा हो की ४ कक्षामा हो नेपाली किताबमा पढ्दा एउटा चित्र थियो भोटेदाईलाई चिनाउने, काने टोपी लगाएको चित्र । आजसम्म पनि त्यही चित्रलाई मैले मदन बचाउने भोटेदाई भनेर सम्झिने गरेको छु । 

उनै भोटेदाईलाई आदर्श मानेर होला मैले पनि पैसालाई कहिल्यै ठुलो मानिनँ । सानोमा पनि बरु भाईले आमासँग १ रुपैयाँ माग्दा मैले पनि पाउँथे, तर आफैले भने कहिले पनि मागिनँ । किनकी पैसा त्यति ठुलो कुरा होईन भन्ने परेको थियो मलाई । यस्तै सोँच्दै अघि बढिरहेँ जीन्दगीमा । 

जब तिमी जोडिन आईपुग्यौ यात्रामा, अनि तिमीलाई पनि मैले केही ढाँटिनँ । जे जसरी सोध्यौ मेरो परिवारिक अवस्थाको बारेमा, ती सबै खुलस्त बताइदिएँ । सायद यहीँनेर हामी दुईको हैसियत नमिलेको सहज आँकलन ग¥यौ तिमीले । मैले तिमीलाई त्यही मुना मदनको मुना ठानिरहेँ, अनि तिमीले पनि

हातका मैल सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएकै बेस आनन्दी मनले । ।

भन्ल्यौ भन्ने आश गरिरहेँ । तर जब मलाई बीच बाटैमा छाडेर अलग्गियौ तिमी, अनि पो सोँचेँ । समय धेरै अघि बढिसकेछ भन्ने । र त सँधै महाकविका मुनाको अभाव खड्किरह्यो जीन्दगीमा । हुन त आफु मदन बन्न पनि कहिले पो सकियो र ???

मैले तिमीलाई लगानी गर्न मुटु धितो राखेर प्रेमको लोन निकाल्न सकिनँ । सायद यही नै गल्ती भइदियो मेरो । बिना धितो त यहाँ किसानको उत्थान गर्छु भन्ने कृषि बैँकले किसानलाई नै त ऋण पत्याउँदैन, अरुको के कुरा । यसो सोँच्छु, सायद मैले समय अनुसार हिँड्न जानिँन हुँला पनि ।

केही दिनअघि एउटा समाचार पढेथेँ मैले, चिनमा एउटी प्रेमिकाले आफुलाई चाहिने सामान किन्न जाँदा धेरै वहुमुल्य सामान किनिसक्दा पनि अझै किन्न खोजिरहँदा विवाद भएपछि प्रेमी चाहिँले त्यो भवनको सातौँ तला माथीबाट हाम फालेर आत्महत्या गरेको समाचार । 

यो पढिसकेपछि महसुस भयो मलाई, यो युगमा बसेर, एक थुङ्गो गुलाबमा माया समेट्ने प्रयास गर्नु सायद मेरो नै गल्ती थियो । कहिलेकाहीँ बादललाई पनि आकाश ठानेर गल्ती गर्छन केटाकेटीहरु, सायद यस्तै गल्ती भयो जीन्दगीमा ।

बाटो पहिल्यै किन्छु भन्थ्यौ, पाईला किनेर देखाउ ।
म मुटु ओच्छ्याउँछु, सक्छौ हिनेर देखाउ । ।
पख थोरै रगत झिक्छु, मेरो पनि मिसाउछु
कुन तिम्रो, कुन मेरो लौ त चिनेर देखाउ । । ।

(((((((((((बाटो किन्न सक्छु भन्थ्यौ)))))))))))))))))))))))

म कहिलेकाहीँ पशुपतिको डाँडोमा गएर बस्छु । तल बागमतीको छेउमा धुवाँ बनेर उड्दै गरेका केही मृत शरीरतिर ध्यान दिन्छु । छेउमा केही आफन्तहरु रुँदै गरेको पनि देख्छु, केही मलामीहरुको मन फुङ्ग उडेको पनि अनुमान लगाउँछु । 

अनि सोँच्छु, ती वरिपरि थुप्रिएका मान्छेहरुको मनमा, बाँचुञ्जेल जति नै तेरो मेरो भनेर लफडा गरेपनि अन्तिममा ६ मन दाउरामा गएर जीन्दगीले विश्राम लिँदोरहेछ भन्ने कुरा खेल्छ की खेल्दैना होला ? धनको टेको लगाएर लत्रेको जीन्दगी एकदिन गोजी नभएको कात्रोद्धारा ओढिनेछ । हो गोजी नभएको कात्रो, हामी भने मर्दा पनि के के नै लैजाने जस्तो गरि बाँचुञ्जेल बित्थामा अनेकन द्रव्य सोहोरिरहन्छौँ ।

मैले निक्कै वर्ष पहिले एकजना साधुलाई भेटेको थेँ । सोधेथेँ, बाबा तपाईँ किन यसरी साँसारिक मोह त्यागेर हिँडेको ? तब उनले एउटा ढुङ्गो टिपेर मलाई दिँदै एकछिन मुट्ठी भित्र राख भने । मैले त्यसै गरेँ । 

एकछिन पछि ल अब त्यो छाडिदेउ भने, फेरी पनि मैले त्यसै गरेँ । अनि उन्ले उल्टै मलाई सोधे, त्यो ढुङ्गा अहिले किन तिमीसँग नबसेर भुईँमा खसेको ? मैले भनेँ, मैले छाडिदिएँ नी त , त्यसैले ।

तब ती बाबाले प्रवचन शैलीमा भन्न थाले, “यो सँसार, आफन्त, साथीसंगी भनेको पनि यस्तै हो बाबु । जतिञ्जेल तिमीसँग उनीहरुलाई आफ्नो नजिक राखिरहन सक्ने शक्ति हुन्छ, त्यतिञ्जेल मात्रै उनीहरु तिम्रा नजिक हुन्छन् । जुन दिन तिमी यसरी नै शक्तिहिन हुन्छौ नी त्यही दिन ती सबै तिमीबाट टाढिनेछन् ।”

उनले अझै थपे, “यो तिमीले बाँच्दै गरेको सँसार निक्कै स्वार्थी छ बाबु । जसलाई तिमी आफ्नो ठानिरहेका छौ, ती सबै तिम्रा भ्रम मात्रै हुन् । तिम्रो आफ्नै छायाँ पनि तिम्रो हुँदैन अँध्यारोमा, अरुको के कुरा गर्छौ ।” हो यस्तै भनेथे तिनले मलाई ।

उनका ती दार्शनिक जस्ता लाग्ने कुराहरुमा बिल्कुल असहमति त थिएन मेरो । फेरीपनि तिमीलाई सम्झिएर सबै कहाँ त्यस्ता स्वार्थी हुन्छन् र भन्दै बिदा भएथेँ उनीबाट । 

म निक्कै पर पुगिसक्दा पनि उनी के के भनेर चिच्याउँदै थिएँ, जसलाई बेवास्ता गर्दै अघि लम्किरहेथेँ म । 

आज वर्षौँपछि ती बाबा मेरो मानसपटलमा आएर मलाई जिस्काउँदै छन् । खुच्चिङ मार्दैछन् म प्रति ।
थाहा छैन तिमी कहाँ पुग्यौ, के गर्दैछौ । अहँ केही थाहा छैन ।

सुपारी दिन्छु अनि फिरौती दिन्छु । ।
पेश्कीमा केही रकम थमौती दिन्छु । ।
तर काम शतप्रतिशत फत्ते हुनुपर्छ
मन किनेर देखाउ म चुनौती दिन्छु । । ।

((((((((((मान्छे किन्न सक्नेले मन पनि किन))))))))))))))))))))))))


1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget