Tuesday, April 1, 2014

वहकिने मन (२०७० माघ २७)

देख्छु सबैको मालामाल भाको छ ।
आफ्नो त, ताल न बेताल भाको छ । ।
तिमी के छ खबर भनेर मात्रै सोध्छौ
के सुनाउँ, जीन्दगी बेहाल भाको छ । । ।

((((((((((((((मैले पूण्य मन पराएँ या पाप मन पराएँ, स्वर : नारायणगोपाल)))))))))))))

म तिर बल्छी जस्तै प्रेम फ्याँकेर दिलमा हलचल ल्याइदिएकी मान्छे
एउटा अर्कै खाले माया तिमीलाई, हो अर्कै खाले माया ।

जेनतेन केही शब्दहरुलाई असरल्ल फिँजाएर लेखिरहेको यो प्रेम पत्रले तिम्रो प्रेम दिलाउला मलाई भन्नेमा कत्ति पनि विश्वास छैन मेरो । फेरी पनि लेख्दैछु म आज, अझ सुनाउँदैछु भनौँ क्यारे । सायद यसैको माध्यमबाट त्यो अर्कै खाले प्रेम बुझाउने प्रयत्न गरिरहेछु म तिमीलाई ।

मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज । हामीले बाँच्दै गरेको समाजले स्वीकृति दिइनसकेको प्रेम । त्यो अर्कै खाले प्रेम ।

म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाईरहेको मान्छे । फेरी पनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोरी हस्तक्षेप गर्यो, मैले पत्तै पाईनँ । सँधै सोँच्थेँ, म प्रेम शुन्य मान्छे । नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पना समेत गरेको थिइनँ । लाग्थ्यो, म त ढुंगा भइसकेँ, बाहिर भिज्छु मात्रै, भित्र गल्दिनँ । तर अचेल भित्र पनि गल्दैछु की भन्ने अनुभुत भइरहेछ मलाई ।

म मा हिजो पनि प्रेम जागृत नभएको भने होईन । तर जसजसलाई मैले चाहेँ, उनीहरुले मलाई मन पराएनन् । अनि जसजसले मलाई मन पराए उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, त्यही सच्याउन चाहन्छु म अब ।  हुन त अनुहारमा आँखी भौँ नभएपनि हुन्छ । तर आँखी भौँ बिनाको त्यो अनुहार अत्यन्तै कुरुप देखिन्छ । तिमी पनि त्यस्तै हौ मेरो लागि । 

म के भन्दैछु भने, तिमी अपरिहार्य आवश्यकता होईनौ मेरो । अझ सजिलोसँग भन्छु तिमीलाई, म अधिकांश प्रेमीहरु आफ्ना प्रेमिकालाई भने जस्तै “तिमी बिना बाँच्न सक्दिनँ” भनेर भन्दिनँ । किनकी म तिमी बिना पनि मज्जैले बाँच्न सक्छु । 

अहिलेसम्म तिमी बिना बाँचिरहेको छु भने, अब अगाडी चाहीँ सक्दिनँ भनेर किन झुठ बोलुँ म ? तर तिमी सहितको जीवन अझै सुन्दर हुनेछ भन्ने मात्रै हो मेरो ढिपी । मान्छे स्वार्थी हुन्छ, म पनि ती नै मान्छेहरुमध्येको एक न हुँ, सकेसम्म जीवन सोँचे जस्तै होस् भन्ने चाहना राख्नु स्वभाविक नै त हो नि ।

म तिमीलाई प्रेम गर्छु । औधी माया गर्छु तिमीलाई । मान्छेहरु किन एकअर्कालाई प्रेम गर्छन, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । मैले तिमीलाई माया गर्छु भने तिमीले पनि मलाई माया गर्नुपर्छ भन्ने मान्यता हो मेरो । 

होईन भने एकोहोरो गरिरहनुको के अर्थ । यदि तिमीले  पनि मैले जस्तै माया गरिनौ भने, मलाई नै थाहा छैन, म यसरी नै तिमीलाई माया गरिरहन सक्छु की सक्दीन भन्ने । 

सायद जानी जानी पनि गर्दिनँ हुँला जस्तो लाग्छ मलाई त । तिमीलाई सुन्दा अचम्म पनि लाग्ला, तर सत्य यही हो की, म यो सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छु । मैले तिमीलाई प्रेम गर्नुको चुरो कारण पनि यही नै हो । 

मलाई तिम्रो प्रेमको आवश्यकता छ, त्यसैले म पनि तिमीलाई प्रेम गर्छु । यसलाई प्रेम विनिमय पनि भन्न सक्छौ तिमी, मेरो त्यसमा कुनै आपत्ति रहने छैन ।

जीन्दगीमा एक अर्काको दबाब हुनुहुन्न ।
एउटा हड्डी अनि अर्को, कबाब हुनुहुन्न । ।
मायामा स्वार्थ लुकेकै त हुन्छ
प्रेम गर, प्रेम दिन्छु हिसाब हुनुहुन्न । । । 

(((((((((((((((((((तिमीसँग लिनु पनि छ )))))))))))))))))))

म तिमीसँग प्रेम गर्छु, मिल्छ भने तिमी पनि मसँग प्रेम गर । तर यसको अर्थ यो होईन की, तिमीले म सँगै विवाह गर्नुपर्छ । अहँ हुँदै होईन यो । 

म अहिले तिमीसँग, मात्र...प्रेमको याचना गरिरहेको छु, विवाहको होईन । प्रेम र विवाह भनेका नितान्त भिन्दा भिन्दै क्रियाकलापहरु हुन् । प्रेम सम्बन्ध विवाहमा रुपान्तरण हुनैपर्छ भन्ने रुढ मान्यताप्रति मेरो शतप्रतिशत असहमति छ । 

यदि प्रेम सँधै उत्तिकै उचाईमा रहिरहोस् भन्ने हो भने त त्यो प्रेम सम्बन्ध विवाहमा परिणत हुनै हुँदैन भन्ने हो मेरो दृष्टिकोण । त्यो कसरी भने, हिजोको प्रेमी प्रेमिका विवाहको भोलीपल्टबाट एक्कासी श्रीमान श्रीमतीमा परिवर्तन हुन पुग्छन् । 

त्यतिबेला त्यो सम्बन्धको अर्थ मात्रै फेरिएको हुँदैन, तमाम बोझहरु पनि थपिएका हुन्छन् जीन्दगीमा । जसले गर्दा घर गृहस्थीले यसरी गाँज्छ की मान्छेलाई, उनीहरु हामी हिजो प्रेमी प्रेमिका थियौँ भनेर पनि भुलिदिन्छन् ।

तर यदि त्यो प्रेम सम्बन्धमा विवाह हुन सकेन भने उनीहरुको साइनो पूर्व प्रेमी र पूर्व प्रेमिका नै भएर रहेको हुन्छ । यो साइनोमा पूर्व भन्ने शब्दसँगै प्रेमी र प्रेमिका यथावत हुनु संयोग मात्रै होईन, त्यो एक किसिमले संकेत पनि हो, अझै प्रेम जीवित छ भन्ने । यसो भन्नुको अर्थ जानाजान प्रेममा घात गर्नुपर्छ, धोका दिनुपर्छ पनि भनिरहेको छैन म ।

ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेउ, फुलिरहन देउ । किनकी तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ । 

अत प्रेम भनेको कब्जा गर्नु अथवा हासिल गर्नु होईन, बरु यो त सम्मान गर्नु हो, बढोत्तरी गर्नु हो । फुलको फुल्ने क्षमतालाई सम्मान गर्नु प्रेम हो, यसो गर्दा त्यो फूलिरहन पनि पाउँछ । तर प्रेमको वाहानामा त्यसलाई चुँडियो भने, त्यसको अस्तित्व उसैबखत मेटिन्छ । 

चर्चित साहित्यकार एवम् चलचित्र निर्देशक गुलजार र कलाकार राखी बीच प्रेम भयो । त्यसो राखी विवाहित थिइन् । फेरी पनि गुलजारसँगको प्रेमलाई अगाडी बढाइन् । पछि विवाह पनि गरिन् उनैसँग । विवाहपछि गुलजार राखीलाई चलचित्रबाट अलग्याएर घरमै राख्न चाहन्थे तर राखी चर्चित भइसकेकीले त्यो स्वीकारिनन् । 

एउटा छोरी जन्मिएको केही समयपछि उनले गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन् । दुवैमा मतभेद भयो र उनीहरु छुट्टै बस्न थाले । तै पनि उनीहरुको प्रेम बिग्रिएन ।

श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिका मात्रै भए उनीहरु । प्रेमी र प्रेमिका कै हैसियतमा अझै पनि उनीहरु एकअर्कालाई भेटिरहन्छन् । दुवै प्रेमी प्रेमिका झैँ एक अर्कासँग उस्तै गहिरो प्रेम गर्थे, आज पनि गर्छन । 

तर सँगै बस्दैनन् ।  विवाहले एक अर्काप्रति हस्तक्षेपकारी भावना विकास गर्छ र त्यसैको कारण प्रेम ओझेलमा पर्दै जान्छ भन्ने बलियो उदाहरण हो उनीहरुको सम्बन्ध । 

फेरी पनि म जोड दिएर भन्दैछु, म प्रेम मात्रै गर्न खोज्दैछु तिमीसँग, विवाह होईन । मलाई विवाहमा त्यति धेरै विश्वास पनि छैन । मलाई थाहा छ म अलि उग्र कुरा गरिरहेछु ।

तिमी यसलाई अराजक प्रेम पनि भनौला । तर मेरो ध्येय यत्ति हो की, म आजीवन तिमीसँगको प्रेम अनुभुत गरिरहन चाहन्छु । हो, त्यस्तै खालको प्रेम गर्न चाहन्छु म तिमीसँग । 

मैले यसो भनिरहँदा फेरी तिमी मेरो प्रेमलाई फगत वासनाले प्रेरित भनेर पनि आशंका गरौला । तर त्यसो होईन, म त तिमीलाई नभेटेरै पनि तिमीसँग प्रेम गरिरहन चाहन्छु । चलनचल्तीको प्रेम भन्दा अर्कै खाले प्रेम गर्न चाहन्छु म तिमीलाई । 

आउ सँगै बसेर छलफल गरौँ ।
विचार मिले एउटा पहल गरौँ । ।
प्रेममा विवाह हुनैपर्छ भन्ने छैन
हो यही विश्वासलाई मलजल गरौँ । । ।

((((((((((((((जब फूल र काँडा दुईटा सँगै रमाउन सक्छ ))))))))))))))))))

1 comment :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget