Tuesday, February 25, 2014

वहकिने मन 92: वर्ष 2 अंक 38 (2070-11-12) : Download

बहकिने मन BAHAKINE MAN
DATE :(2070-11-12/24-02-2014)  
Time : 9.15pm Every Monday          
Host :  Mahabir Biswakarma          
Phone-977-01-550982 / 5551161  
Facebook : Bahakine Man
FM: CIN Network 


''आफुले प्रेम गरेको मान्छे हर समय आफ्नै वरिपरि भइदिए हुन्थ्यो भन्ने किन लाग्छ होला मनमा ??''

प्रेम लेख्ने एकजना पत्रकार 'नरेन्द्र रौले'को विचार सहितको वहकिने मन (2070-1-1-12)...



Listen and Download
                             Download : Click Here to Download

Tuesday, February 18, 2014

वहकिने मन 91: वर्ष 2 अंक 37 (2070-11-03) : Download


कार्यक्रम : बहकिने मन 
मिति :  (2070-10-27)
प्रस्तोता :महावीर विश्वकर्मा


नमस्कार !

'वहकिने मन' रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम हो ।  

चरीको कथा समावेश गरिएको कार्यक्रमको आजको श्रृंखलामा ''नयाँ प्रेम सम्बन्धमा पुरानो सम्बन्धको प्रभाव कस्तो रहन्छ ?'' भन्ने विषयमा चर्चा गरिएको छ ।
Listen And Download
                             Download : Click HEre to Download

चरीको कथा...


......महावीर विश्वकर्मा
 (2070/11/05)

म आज तपार्इंलाई एउटा कथा सुनाउँछु ।
एक्लै हुने चरीको मनको व्यथा सुनाउँछु । ।
जीन्दगीले चोट दिने, एउटी सुन्दर चरीको
सुन्दा सुन्दै मन रुने जायजेथा सुनाउँछु । । ।

आज सुनाउँदैछु एउटा कथा, त्यो एकादेशको कथा...त्यो एकादेशमा पनि घना जङ्गलमा बस्ने चरा र चरीको कथा । हो, भर्खर भर्खर जोडी बनेका ती सुन्दर चरा र चरीको कथा...।

त्यो घना जंगलको बीचमा एउटा रुख थियो । जहाँ बस्नका लागी सुन्दर गुँड थियो...घुम्नका लागी खुल्ला आकाश थियो । कहिले किरा फट्याङ्ग्रा समातेर खान्थे, कहिले पात पतिङ्गगर खोस्रिएर अघाउँथे । खुल्ला आकाशमा कहिले चरो अघि अनि कहिले चरी अघि एकतमासले वेग हानेर उडिरहन्थे उनीहरु । त्यो एउटा रमाइलो खेल थियो उनीहरुको । कहिले चरो अगाडी कहिले चरी अगाडी । यसैगरि मनग्गे खुशी हुन्थे उनीहरु ।

चरोको एउटा बानी थियो । जब आहारा भेट्थ्यो अनि भुर्रर उडेर चरीको छेउमा पुग्थ्यो र चरीलाई मुख आँ गर्नलगाउँथ्यो । जब आहारा खानका लागि चरीले मुख आँ गर्थिन् अनि चरोले उनको मुखमा आहारा हालिदिन खोजे जसरी आफैले खाइदिन्थ्यो । त्यतिबेला चरीले रिसाएझैँ गरेर उसको टाउकोमा एक दुईपटक ठुङ्थिन् र एकातिर मुन्टो फर्काएर ठुस्किन्थिन् । तब त्यो चरो उनलाई जिस्काउँदै लुकाएर राखेको अर्को ठुलो आहारा दिन्थ्यो । चरी सोध्थी, तिमी किन सँधै यसैगरि सताउँछौ मलाई । चरो भन्थ्यो, तिमीले रिसाउँदा पनि माया गरेर पिटेको खुब्बै मनपर्छ, त्यही हेर्न । चरी, होला खुब्बै भन्दै आहारा खोस्थी, अनि दुवैजना हाँसीहाँसी खान थाल्थे । यसैगरि बितिरहेका थिए दिनहरु अनि रातहरु ।

तर एकरात बेस्सरी हुरी चलिरहेको थियो । दिनभरि पर पर सम्म उडेर आएकोले निक्कै थाकेका थिए चराचरी । मस्त निन्द्रामा थिए । एक्कासी ठुलो आवाज आयो । आफु हुत्तिएर भुइँमा पछारिएको अनुभव गरि चरीले । उठेर छेउमा चरोलाई हेरि, देखिन ।

अलि परपट्टी आफुहरुको गुँड देखी, सकी नसकी दौडिँदै त्यहाँ पुगी, भत्किएको थियो त्यो । भित्र चरो छ की भनेर हेरि, अहँ देखिन । हुरी चलिरहेकै थियो, पानीको छिटा पनि शुरु हुन आँटेको थियो । एकैछिनमा दर्किएर पानी प¥यो । बिजुली चम्किन थाल्यो । बिजुली चम्किएकै उज्यालोमा रुझ्दै रुझ्दै चरोलाई खोजीरही उसले । तर फेला पार्न भने सकिन ।

खोज्दा खोज्दै थाकी तर भेटिन उसले अनि छेवैको रुखको चरा मुन्तिरको खाल्डोमा ओत लागेर बसि । रात अझै उघ्रिएको थिएन । मनमा अनेकन कुराहरु खेल्न थाले । कतै केही पो भयो की चरोलाई भन्ने सोँच्दा जीउ ढक्क फुलेर आउँथ्यो उसको । न उ पनि रुझ्दै रुझ्दै मलाई नै खोजिरहेको पो छ की भन्ने सोँचाई मनमा आउँदा एकफेर त्यो ओतबाट बाहिर निस्किएर हेर्थी । बाँकी रातभरि यही क्रम चलि नै रह्यो ।

विस्तारै रात भाग्यो, उज्यालो भयो । अनि उ पनि बाहिर निस्किएर चातैतिर खोज्न थाली चरोलाई । खोज्दै अलि पर के पुगेकी थिई, एउटा ढुङ्गाको कापमा पछारिएर प्राण उडिसकेको चरोलाई भेट्टाई उसले ।

हत्तारिएर नजिक पुगी, मुखबाट केही रगत बगेको थियो । पानीले भिजेर पखेँटा एकै डल्लो परेका थिए । आँखा बन्द थियो, छेउमा केही प्वाँखहरु खसेका थिए, ती पनि भिजेर भुइँमै टाँसिएका थिए ।

त्यो दृश्य हेरिरहँदा एक्कासी मुसलधारे पानी दर्कियो । तर त्यो पानी बाहिरबाट हाईन, चरीको आँखाबाट दर्कियो । जसले एकपटक फेरी लुछ्रुप्पै भिजायो, भुइँमा लम्पसार परेको चरोलाई ।

एकादेशमा जंगल थियो त्यहीँ बस्थे चराचरी ।
सँसार भन्नु खुल्ला आकाश, उडिरहन्थे घरीघरी । ।
एकदिन ठुलो हुरी आयो, हाँगा भाँच्यो, चरो मरे
अनि कठै ती चरी त एक्ली भइन् सँधैभरि । ।

रोएरै बसिरही चरी, मृत चरोको छेवैमा । केहीबेरमा घाम लाग्यो, दिन भयो । उ भने बेप्रवाह आँखाबाट आँशुको बलेसी बगाउँदै थच्चिरही त्यहीँ । जब उसको प्रिय चरोलाई कमिलाका ताँतीहरुले घेरिरहेको उसका टिलपिल भरिएका आँखाले देखे । अनि रुँदै रुँदै पानीले भिजेको कमलो माटोलाई ठुँडले ठुङ्दै र खुट्टाले खोस्रिँदै सानो खाल्डो जस्तो बनाई ।

अनि चरोलाई चुच्चाले च्यापेर घिसाद्रै त्यो खाल्डोमा हालेर पुरिदिई । एकछिन त्यही सानो खाल्डोमाथी आँशु चुहाई । अनि खै के सोँचेर हो, एकपल्ट पनि पछि फर्किएर नहेरिकन बेग हानेर बत्तिइ ।

पहिले यसैगरि बेग हानेर आकाशमा बत्तिँदा चरो कहिले उ भन्दा अघि हुन्थ्यो, अनि कहिले पछि । तर यतिबेला भने उ एक्लै अघि भइरहेकी थिइ । सायद अब सँधै यसैगरि उ मात्रै अघि भइरहँदी हो । किनकी छिनछिनमा उसलाई उछिनेर अघि जाने उसको प्रिय चरोलाई निक्कै पर छोडिसकेकी थिई उसले । उसले छोडेकी थिइन । उ आफै छुटेको थियो । अझ भनौँ नियतिले छुटाएको थियो उसलाई ।

रुँदैरुँदै उडेकी चरी निक्कै डाँडा काटेर टा..ढा.... पुगी । बस्ने ठेगान नै खोसिएकोलाई के छ र । जहाँ रात पर्यो त्यहीँ बास् । अनि जहाँ बास् बस्यो, त्यहीँ घर । त्यो रात त्यहीँको एउटा रुखमा ओत लागेर बिताई उसले ।

हिजोको निरन्तरको उडाईले होकी, मनमा पिर भएर हो, विहान भएपछि फेरी उड्नै सकिन उ, उड्ने जाँगर पनि आएन । यसैगरी केही दिन त्यहीँ बिताई । जब उडेर अन्तै जाउँ की भन्ने सोँची, अनि मनमा लाग्यो, आखिर जानु पनि कहाँ । कसलाई पो भेट्नु छ र । को नै पो छ र आफ्नो भन्ने । यस्तै सोँची, अनि जहिलेसम्म हुन्छ त्यतिन्जेल यहीँ बस्छु भनेर निर्णय गरि ।

विस्तारै केही दिनहरु बिते । रातहरु दिनसँगै बित्ने नै भए । एक विहान जब उ ब्यूँझिएर गुँडबाट बाहिर निस्की । तब केही परको रुखमा बसेको एउटा चरो उसैलाई हेरिरहेको पाई । चरो भुर्रर उडेर नजिक आयो । अनि आफुले चरिलाई धेरै दिनदेखी हेरिरहेको बताउँदै साध्यो-

'तिमी किन कहिल्यै पनि उडेर बाहिर जाँदैनौ ?'

चरीले भनी, 'यसै' ।

'तिमीलाई यो नयाँ ठाउँमा रमाइलो लागेन हो ?' त्यो अपरिचित चरोको प्रश्न

'खै थाहा छैन' चरीको जवाफ ।

'किन थाहा नभएको नी ?' प्रश्न माथीको प्रश्न ।

'त्यो पनि थाहा छैन ।' फेरी उस्तै जवाफ ।

'तिमीलाई आकाशमा उडिरहन मन लाग्दैन र ?'

'मन ?????'

एक्कासी झस्किइ चरी, त्यो मन भनेको सुनेर । अनि आफु पनि प्रिय चरोसँग कहिले अघि र कहिले पछि वेग हानेर उडिरहेको दिनहरु र त्यही प्रिय चरोलाई चुच्चोले घिसारेर खाल्डोमा पुरेको दिन एक्कैपटक सम्झी उसले । अनि, ठुलो अन्यौलमा परि, त्यो नयाँ चराले सोधेको जस्तो उसको मन आफैसँग छ की छैन भनेर । कति प्रयत्न गरि तर पत्ता लगाउन सकिन ।

उ केही बोलिन, यसै निरुत्तर बसिरही । त्यो नयाँ चरा भुर्रर उडेर गयो । अनि एकैछिनमा फेरी उसैगरि टुप्लुक्क आईपुग्यो । अनि चुच्चाले च्यापेर ल्याएको आहारा चरीलाई दियो । उसले एकछिनमा खान्छु भनेर गुँडमा राखी ।
क्रमश : यसैगरि नजिक भए उनीहरु ।

चरा चरीसँग नजिक हुन थाल्यो । विस्तारै गुँडबाट केही परसम्म उडाएर लैजान थाल्यो । त्यसरी उड्दा त्यो चरा कहिले अघि त कहिले पछि हुन्थ्यो । हो यति नै बेला बेस्सरी सम्झिन्थी चरी, आफ्ने प्रिय चरोलाई । सायद रुँदी पनि हो त्यतिबेला । उसैलाई सम्झिएर ।

यसैगरि बित्दैथे दिनहरु । बिस्तारै चरीको मनमा बसिरहेको थियो नयाँ चरा । एकदिन त्यो चराले चरीलाई एउटा प्रस्ताव राख्यो -

'अब सँगै एउटै गुँडमा बसौँ' भन्ने प्रस्ताव ।

उसको प्रस्तावले चरीलाई भित्र मनमा कसैले बेस्सरी मुक्का हाने झैँ भयो । केही बोलिन् । चरा भुर्रर उडेर गयो । अलिबेरमा आयो । अनि ल्याएको आहारा खान चरीलाई मुख आँ गर्नु भन्यो, चरीले पनि त्यसै गरि ।

तर उसले चरीलाई नदिई आफैले पो खायो, त्यो आहारा ।

अनि चरीलाई जिस्काउँदै हाँसिदियो ।

उसको यो व्यवहारले आफ्नो प्रिय चरोको याद दिलायो चरीलाई ।

उसले पहिले आफ्नो प्रिय चरोले पनि त्यसै गरेको सम्झिइ ।

अनि गहभरि आँशु पारि । त्यो देखेर त्यो चराले, 'ल ..किन रोएको ? जिस्काएको पो त' भन्दै अर्को ठुलो आहारा झिकेर मुखमा राखिदियो ।

अनि त झनै भक्कानिएर रोई चरी । चराले त त्यो कुरा बुझेन बरु 'तिम्रो लागि अर्को पनि आहारा लिएर आउँछु है !' भन्दै भुर्र उड्यो ।

उडेको मात्रै के थियो, परबाट कसैले हानेको गुलेलीको मट्याङ्ग्रोले छातीमै लागेर खुत्रुकै भुईँमा खस्यो ।

सायद आईया !!!! पनि भन्न नपाएर ठहरै भयो उ ।

एकैछिनको बीचमा भएको यो सब घटनाले अचेत जस्तै भई चरी । सायद उ पनि चराको 'एउटै गुँडमा बस्ने प्रस्तावमा सहमत जनाउन चाहन्थी', तर त्यो सुनाउन नपाउँदै फेरी एक्लै भई चरी ।

पहिले जस्तै फेरी उसको, मन टुट्यो सँधै भरलाई ।
जेनतेन हाँस्न खोज्दा खोज्दै खुशी लुट्यो सँधैभरलाई । ।
विचरीलाई आँशु मात्रै दैवको त्यो लेखा कस्तो
जोड्न जोड्न खोजिएको साथ छुट्यो सँधै भरलाई । । ।

Friday, February 14, 2014

मेरो प्रेम पत्र....

म तिर बल्छी जस्तै प्रेम फ्याँकेर दिलमा हलचल ल्याइदिएकी मान्छे...
एउटा अर्कै खाले माया तिमीलाई,
हो अर्कै खाले माया ।

प्रेम दिवसको संघारमा ठिङ्ग उभिएर यो पत्र कोरिरहँदा, म शुरुवात मै भन्छु, मैले आजसम्म देखेका मान्छेहरुमध्ये सबैभन्दा राम्री होईनौ तिमी, अहँ हुँदै होइनौ । अनि मैले आजसम्म भेटेका मान्छेहरुमध्ये मलाई सबैभन्दा बढी मन परेकी मान्छे पनि होईनौ तिमी । फेरी पनि म तिमीलाई माया गर्छु । कुनै चलचित्रको पर्दामा जस्तो तिमीलाई देख्ने बित्तिकै मलाई कुनै बेग्लै अनुभुति भएको होईन । बरु निरन्तरको सामिप्यताले तिमी कार्बन राखेर छापेको चित्र झैँ छापियौ मेरो मनमा, हुबहु चित्र जस्तै भएर । आखिर मन म सँग पनि त रहेछ, माया गर्न यसले पनि त जान्दो रहेछ ।

जेनतेन केही शब्दहरुलाई असरल्ल फिँजाएर लेखिरहेको यो प्रेम पत्रले तिम्रो प्रेम दिलाउला मलाई भन्नेमा कत्ति पनि विश्वास छैन मेरो । फेरी पनि लेख्दैछु म आज । सायद यसैको माध्यमबाट त्यो अर्कै खाले प्रेम बुझाउने प्रयत्न गरिरहेछु म तिमीलाई ।

मलाई थाहा छैन, मैले पाप गर्दैछु की पूण्य । अहँ म छुट्याउनै सक्दिनँ त्यो । मलाई त यत्ति थाहा छ की, म तिमीलाई प्रेम गर्न थालेको छु हिजोआज । हामीले बाँच्दै गरेको समाजले स्वीकृति दिइनसकेको प्रेम । त्यो अर्कै खाले प्रेम ।
जीन्दगीको यात्रामा यहाँसम्म आईपुग्दा मैले कति धेरै मान्छेहरुलाई राम्री देखेँ, मन पराएँ । कतिलाई उ प्रतिको आफ्नो धारणा जानकारी गराएँ । कतिलाई भन्छु भन्दाभन्दै मेसो नमिलेर मनभित्रै गुम्स्याएर राखेँ । कति मान्छेहरु अघाउञ्जेल आँखाले हेरियो मात्रै ।

अनि केही मान्छेहरु चाहीँ आँखाको बाटो हुँदै मनसम्म पुगेर फर्किए पनि । जसजसलाई मैले चाहेँ, उनीहरुले मलाई मन पराएनन् । अनि जसजसले मलाई मन पराए उनीहरुलाई मैले चाहिनँ । त्यसैले त जीन्दगीको गणित आजसम्म पनि त्रुटीपूर्ण छ । हो, त्यही सच्याउन चाहन्छु म अब । जानी जानी हेरिएकाहरु, संयोगले देखिएकाहरु क्रमशः सम्झनाको संग्रहबाट हराउँदै गए, बिलाउँदै गए ।

जीन्दगीका पानाहरु क्रमशः पल्टिँदै जान्छ । सम्बन्धका अध्यायहरु ती पानाहरुसँगै टुङ्गिदै जान्छन् । तर पाठक भने अझै अघिल्ला पानाहरु पल्टाइरहन्छ । स्वभावैले केही अध्यायहरु मेरा पनि लेखिए होलान् । म त्यसो हुँदै भएन भनेर जबर्जस्ती झुठ ओकल्न पनि सक्दिन तिमीसँग । कारण, म तिमीलाई प्रेम गर्छु । र प्रेम गर्ने मान्छेसँग केही लुकाउन खोज्नु किमार्थ उचित होईन भन्ने राम्ररी थाहा छ मलाई ।

आज तिमीलाई जस्तै हिजो अरुलाई पनि धेरथोर मन पराएँ हुँला मैले । सायद उनीहरुको सौन्दर्यतामा आकर्षित भएँ हुँला म । र त आज भन्दैछु, ती केवल आकर्षण मात्रै थिए, आँखाको । तर आज तिमी सबैभन्दा राम्री नभए पनि म तिमीलाई रुचाईरहेछु । मलाई लाग्दैछ, यो पक्कै पनि प्रेम हो, मन पराएको मात्रै होईन । मन पराउन त बजारमा बेच्न राखेको फूललाई पनि सकिन्छ । तर त्यो प्रेम चाहीँ हुँदैन । त्यो फूल हार्दिकताका साथ जसलाई दिइन्छ त्यो चाहीँ प्रेम हो क्यारे बरु ।

म त एक्लै अघि बढिरहेको मान्छे । व्यक्तिगत स्वतन्त्रताको परिधिहरुमा मनमौजी आफैलाई डुलाईरहेको मान्छे । फेरी पनि मेरो वैयक्तिक स्वतन्त्रतामा तिम्रो निर्दोषपनाले खै कसोरी हस्तक्षेप ग¥यो, मैले पत्तै पाईनँ । सँधै सोँच्थेँ, म प्रेम शुन्य मान्छे । नारी अस्ताएको मेरो जीवनमा प्रेम एक्कासी उदाउला भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।

प्रेम शब्द मलाई अनुत्पादक लाग्थ्यो, वहुलट्ठीपन लाग्थ्यो, अझ प्रष्ट भनुँ ?, वाहियात लाग्थ्यो । लाग्थ्यो, म त ढुंगा भइसकेँ, बाहिर भिज्छु मात्रै, भित्र गल्दिनँ । तर अचेल भित्र पनि गल्दैछु की भन्ने अनुभुत भइरहेछ मलाई । युद्ध पिपासु रोमन सम्राट क्लाउडियस जस्तै प्रेमलाई घृणा गर्थेँ म । तर खै कसोरी हो, म त आफ्नै विचारहरुबाट स्खलित भइसकेछु । अडानहरुबाट च्यूत भइसकेछु अनि ढिपीहरुबाट वहिर्गमित भइसकेछु । समग्रमा समयले मलाई यस्तो मोडमा ल्याएर उभ्याइदियो, जहाँ आफ्ना संशोधित विचारहरुको भारी बोकेर आत्मसमर्पणकारी भावमा म निर्लज्ज भनिरहेछु — म तिमीलाई प्रेम गर्छु । हो प्रेम गर्छु म तिमीसँग ।

हुन त अनुहारमा आँखी भौँ नभएपनि हुन्छ । तर आँखी भौँ बिनाको त्यो अनुहार अत्यन्तै कुरुप देखिन्छ । तिमी पनि त्यस्तै हौ मेरो लागि । म के भन्दैछु भने, तिमी अपरिहार्य आवश्यकता होईनौ मेरो । अझ सजिलोसँग भन्छु तिमीलाई, म अधिकांश प्रेमीहरु आफ्ना प्रेमिकालाई भने जस्तै “तिमी बिना बाँच्न सक्दिनँ” भनेर भन्दिनँ ।

किनकी म तिमी बिना पनि मज्जैले बाँच्न सक्छु । अहिलेसम्म तिमी बिना बाँचिरहेको छु भने, अब अगाडी चाहीँ सक्दिनँ भनेर किन झुठ बोलुँ म ? तर तिमी सहितको जीवन अझै सुन्दर हुनेछ भन्ने मात्रै हो मेरो ढिपी । मान्छे स्वार्थी हुन्छ, म पनि ती नै मान्छेहरुमध्येको एक न हुँ, सकेसम्म जीवन सोँचे जस्तै होस् भन्ने चाहना राख्नु स्वभाविक नै त हो नि ।

म तिमीलाई प्रेम गर्छु । औधी माया गर्छु तिमीलाई । मान्छेहरु किन एकअर्कालाई प्रेम गर्छन, त्यो त एकिन साथ भन्न सक्दिनँ म । तर म भने यसकारण तिमीलाई प्रेम गर्छु की, म पनि उस्तै प्रेमको अपेक्षा गर्छु तिमीबाट । मैले तिमीलाई माया गर्छु भने तिमीले पनि मलाई माया गर्नुपर्छ भन्ने मान्यता हो मेरो । होईन भने एकोहोरो गरिरहनुको के अर्थ । यदि तिमीले  पनि मैले जस्तै माया गरिनौ भने, मलाई नै थाहा छैन, म यसरी नै तिमीलाई माया गरिरहन सक्छु की सक्दीन भन्ने ।
सायद जानी जानी पनि गर्दिनँ हुँला जस्तो लाग्छ मलाई त । तिमीलाई सुन्दा अचम्म पनि लाग्ला, तर सत्य यही हो की, म यो सँसारमा सबैभन्दा बढी आफैलाई माया गर्छु । मैले तिमीलाई प्रेम गर्नुको चुरो कारण पनि यही नै हो । मलाई तिम्रो प्रेमको आवश्यकता छ, त्यसैले म पनि तिमीलाई प्रेम गर्छु । यसलाई प्रेम विनिमय पनि भन्न सक्छौ तिमी, मेरो त्यसमा कुनै आपत्ति रहने छैन ।

म तिमीसँग प्रेम गर्छु, मिल्छ भने तिमी पनि मसँग प्रेम गर । तर यसको अर्थ यो होईन की, तिमीले म सँगै विवाह गर्नुपर्छ । अहँ हुँदै होईन यो । म अहिले तिमीसँग, मात्र...प्रेमको याचना गरिरहेको छु, विवाहको होईन । प्रेम र विवाह भनेका नितान्त भिन्दा भिन्दै क्रियाकलापहरु हुन् । प्रेम सम्बन्ध विवाहमा रुपान्तरण हुनैपर्छ भन्ने रुढ मान्यताप्रति मेरो शतप्रतिशत असहमति छ । यदि प्रेम सँधै उत्तिकै उचाईमा रहिरहोस् भन्ने हो भने त त्यो प्रेम सम्बन्ध विवाहमा परिणत हुनै हुँदैन भन्ने हो मेरो दृष्टिकोण ।

त्यो कसरी भने, हिजोको प्रेमी प्रेमिका विवाहको भोलीपल्टबाट एक्कासी श्रीमान श्रीमतीमा परिवर्तन हुन पुग्छन् । त्यतिबेला त्यो सम्बन्धको अर्थ मात्रै फेरिएको हुँदैन, तमाम बोझहरु पनि थपिएका हुन्छन् जीन्दगीमा । जसले गर्दा घर गृहस्थीले यसरी गाँज्छ की मान्छेलाई, उनीहरु हामी हिजो प्रेमी प्रेमिका थियौँ भनेर पनि भुलिदिन्छन् ।

तर यदि त्यो प्रेम सम्बन्धमा विवाह हुन सकेन भने उनीहरुको साइनो पूर्व प्रेमी र पूर्व प्रेमिका नै भएर रहेको हुन्छ । यो साइनोमा पूर्व भन्ने शब्दसँगै प्रेमी र प्रेमिका यथावत हुनु संयोग मात्रै होईन, त्यो एक किसिमले संकेत पनि हो, अझै प्रेम जीवित छ भन्ने । यसो भन्नुको अर्थ जानाजान प्रेममा घात गर्नुपर्छ, धोका दिनुपर्छ पनि भनिरहेको छैन म ।

ओशो भन्छन्, यदि तिमी फूलसँग प्रेम गर्छौ भने त्यसलाई नटिप, बोटमै छोडिदेउ, फुलिरहन देउ । किनकी तिमीले चुँड्यौ भने त्यो मर्नेछ । तिमीले फूलेको फूलसँग प्रेम गरेका हौ, तर चुँडिएपछि त्यो कहाँ फुलिरहन सक्छ र तिमी प्रेम गर्छौ । अत प्रेम भनेको कब्जा गर्नु अथवा हासिल गर्नु होईन, बरु यो त सम्मान गर्नु हो, बढोत्तरी गर्नु हो । फुलको फुल्ने क्षमतालाई सम्मान गर्नु प्रेम हो, यसो गर्दा त्यो फूलिरहन पनि पाउँछ । तर प्रेमको वाहानामा त्यसलाई चुँडियो भने, त्यसको अस्तित्व उसैबखत मेटिन्छ । 

चर्चित साहित्यकार एवम् चलचित्र निर्देशक गुलजार र कलाकार राखी बीच प्रेम भयो । त्यसो राखी विवाहित थिइन् । फेरी पनि गुलजारसँगको प्रेमलाई अगाडी बढाइन् । पछि विवाह पनि गरिन् उनैसँग । विवाहपछि गुलजार राखीलाई चलचित्रबाट अलग्याएर घरमै राख्न चाहन्थे तर राखी चर्चित भइसकेकीले त्यो स्वीकारिनन् । एउटा छोरी जन्मिएको केही समयपछि उनले गुलजारसँग विद्रोह गरेर चलचित्रमा काम गर्न थालिन् । दुवैमा मतभेद भयो र उनीहरु छुट्टै बस्न थाले । तै पनि उनीहरुको प्रेम बिग्रिएन ।

श्रीमान श्रीमतीबाट प्रेमी प्रेमिका मात्रै भए उनीहरु । प्रेमी र प्रेमिका कै हैसियतमा अझै पनि उनीहरु एकअर्कालाई भेटिरहन्छन् । दुवै प्रेमी प्रेमिका झैँ एक अर्कासँग उस्तै गहिरो प्रेम गर्थे, आज पनि गर्छन । तर सँगै बस्दैनन् ।  विवाहले एक अर्काप्रति हस्तक्षेपकारी भावना विकास गर्छ र त्यसैको कारण प्रेम ओझेलमा पर्दै जान्छ भन्ने बलियो उदाहरण हो उनीहरुको सम्बन्ध । 

फेरी पनि म जोड दिएर भन्दैछु, म प्रेम मात्रै गर्न खोज्दैछु तिमीसँग, विवाह होईन । मलाई विवाहमा त्यति धेरै विश्वास पनि छैन । मलाई थाहा छ म अलि उग्र कुरा गरिरहेछु । तिमी यसलाई अराजक प्रेम पनि भनौला । तर मेरो ध्येय यत्ति हो की, म आजीवन तिमीसँगको प्रेम अनुभुत गरिरहन चाहन्छु । हो, त्यस्तै खालको प्रेम गर्न चाहन्छु म तिमीसँग । मैले यसो भनिरहँदा फेरी तिमी मेरो प्रेमलाई फगत वासनाले प्रेरित भनेर पनि आशंका गरौला । तर त्यसो होईन, म त तिमीलाई नभेटेरै पनि तिमीसँग प्रेम गरिरहन चाहन्छु । चलनचल्तीको प्रेम भन्दा अर्कै खाले प्रेम गर्न चाहन्छु म तिमीलाई ।

तिम्रो सम्पर्कमा आउनु अगाडी मैले आफ्नै मनलाई पनि चिनेको रहेनछु । मान्छे कत्तिपटक आफैलाई पढ्न नजानेर जीन्दगीको परीक्षामा लगातार अनुत्तीर्ण भइरहन्छ । तर तिमीले मलाई त्यो हुनबाट जोगायौ । आफैसँग आफैलाई परिचित गराइदियौ । म सँग पनि एउटा औषत मन रहेछ अनि त्यसले प्रेम गर्नसक्ने सामथ्र्य पनि राख्दोरहेछ भन्ने तिम्रै कारण थाहा पाएँ मैले । यसैकारण प्रेम गर्छु म तिमीसँग । एक थुङ्गा रातो गुलाबमा व्यक्त गरिनेभन्दा कत्ति हो कत्ति प्रेम गर्छु म तिमीलाई ।

हुन त “म तिमीलाई प्रेम गर्छु” भन्ने वाक्य, प्रश्न जस्तो छैन । फेरी पनि जवाफको अपेक्षा चाहीँ गरिरहन्छ यसले  । त्यस्तै अपेक्षा सहित ओझेल पर्छु ।

तिमीलाई प्रेम गर्नेहरुमध्येको एक
......महावीर विश्वकर्मा.....

प्रसङ्ग, १४ फेब्रुअरी

.........महावीर विश्वकर्मा

जसरी हिन्दू धर्मावलम्बीहरुका लागि दशैँ, क्रिस्चियनहरुका लागि क्रिसमस, मुस्लिमहरुको लागि इद, वौद्धहरुका लागि वुद्ध जयन्ती महत्वपूर्ण चाड हो, त्यसरी नै पछिल्लो समय युवा पंक्तिमाझ लोकप्रिय दिन हो भ्यालेन्टाईन डे अर्थात १४ फेब्रुअरी । केहीवर्ष अघिसम्म नेपाली समाजमा खासै चर्चामा नआएको यो दिन, पछिल्लो ४–५ वर्षमा भने ह्वात्तै चर्चामा आएको छ । आमाको मुख हेर्ने दिन कति गते हो भनेर चासो नराख्ने युवा जमात भ्यालेन्टाइन डे लाई भने १ महिना अघिदेखी कुरेर बस्छ ।

अझ अहिले त भ्यालेन्टाइन डे लाई साताव्यापी रुपमा मनाउने चलनले झनै व्यापकता पाएको छ । १४ फेब्रुअरी आउनुभन्दा १ हप्ता अघि देखी नै विभिन्न दिनहरु गन्तीमा शुरु भइसकेका हुन्छन् । फेब्रुअरी ७ रोज डे, ८ प्रपोज डे, ९ चकलेट डे, १० टेडी (त्भममथ) डे, ११ प्रमिस डे, १२ हग (ज्गन) डे, १३ किस डे र अन्तत १४ भ्यालेन्टाइन डे ।

कसैले भ्यालेन्टाइन डे भनेको के हो ? भनेर सोधिहाले भने हामी सजिलै भनिदिन्छौ – प्रेम दिवस । ‘भ्यालेन्टाइन डे’ लाई नेपालीकरण गर्दा प्रेम दिवस अथवा प्रणय दिवस भन्ने गरिन्छ । तर भ्यालेन्टाइनको नेपाली अनुवाद प्रेम अथवा प्रणय भन्ने चाहीँ हुँदैन । यो त एउटा व्यक्तिको नाम हो । तर यही दिनलाई प्रेमको प्रतीक दिनको रुपमा स्वकारिएको भने अवश्य हो ।

हुन त यो दिनको शुरुवात कसरी भयो भन्ने विषयमा भिन्न भिन्न कुराहरु सुन्नमा आउँछ । तर यो दिनको नाम नै भ्यालेन्टाइन डे भएको हुनाले पनि यसको विषयमा कुरा गर्दा सेन्ट भ्यालेन्टाइनको नाम अगाडी भने आउँछ । सेन्ट भ्यालेन्टाइन रोमका पादरीको नाम हो ।

हुन त क्रिष्चियन धर्मले धेरै धार्मिक शहिदहरुलाई भ्यालेन्टाइेनको उपमा दिएको छ । सन् १९६९ सम्म क्याथोलिक चर्चले औपचारिक रुपमा ११ वटा भ्यालेन्टाइन डे भएको घोषणा गरेको थियो । तर फेब्रुअरीमा सम्झना गरिने सेन्ट भ्यालेन्टाइन भने रोमका हुन् ।

सन २६९ मा मारिएका रोमका भ्यालेन्टाइन पुरोहित थिए । उनलाई रोमका तत्कालीन सम्राट क्लाउडियस द्वितीयले मारेका हुन् । क्लाउडियस युद्धप्रेमी शासक थिए । उनी युद्ध गरिरहन चाहन्थे । तर रोमका युवाहरु भने युद्ध रुचाउँदैनथे । जसका कारण उनीहरु सेनामा भर्ती हुन पनि चाहँदैनथे ।

विश्व विजयको अभियानमा लागिरहेका रोमन सम्राटहरुले भने रोमका युवाहरुलाई सेनामा भर्ती गर्न चाहन्थे । यो उनीहरुको अधिनायकत्व थियो । उनीहरु विशाल सेना तयार गर्न चाहन्थे । तर युवाहरु भर्ती हुन नचाहेपछि उनीहरुको सोँच साकार नहुने स्थिति पैदा भएको थियो ।

श्रीमती वा प्रेमिकाको मायाका कारण रोमका युवाहरु सेनामा भर्ती हुन मानिरहेका थिएनन् । किनभने सेना बनेपछि युद्धमा जानुपर्छ र युद्धमा जानु भनेको मृत्युको मुखैमा जानु नै हो, जुन तिनका श्रीमती र प्रेमिकाहरु चाहँदैनथे । जब सेनामा भर्ती हुन युवाहरु अनिच्छुक देखिए तर सम्राट क्लाउडियसले युवाहरुको विवाहमा रोक लगाए ।

उनले चर्चहरुमा विवाह नगर्न नगराउन उर्दी जारी गरे । उनको यो कदमबाट युवाहरुमा एक किसिमले हलचल नै मच्चियो । उनीहरु खिन्न भए ।
यही जटिल अवस्थामा गोप्य रुमा सम्राटको उर्दीको उल्लंघन गर्दै एकजना एउटा पात्र अघि बढ्यो, सेन्ट भ्यालेन्टाइन ।

उनले इच्छुक युवाहरुको गोप्य रुपमा विवाह गराउन थाले । यो एउटा अभियान नै थियो, युवाहरुको विवाह गराउने । यो अभियानमा भ्यालेन्टाइनलाई मेरियसको पनि साथ मिल्यो । यो अभियान एउटा विद्रोहको रुप थियो, तत्कालीन शासकप्रतिको ।

जब यो अभियानको विषयमा शासकहरुले थाहा पाए अनि पादरी भ्यालेन्टाइनलाई मृत्युदण्डको सजाय सुनाउने निर्णय गरियो । सन २६९ को फेब्रअरी १४ का दिन उनलाई रोमको भिया फ्लेमिनियामा जलाएर मृत्युदण्ड दिइएको भन्ने गरिन्छ ।

उनको भौतिक शरीर त त्यही दिनदेखी यो संसारबाट अस्तायो । तर उनलाई मृत्युदण्ड दिइएको त्यही १४ फेब्रअरीको दिन भने प्रेमको प्रतीकको रुपमा उदय भयो । जसले गर्दा उनी मरेर पनि सँधै सँधैका लागि बाँचिरहे । उनकै सम्झनामा आज पनि प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे भनेर मनाउने गरिन्छ । उनको स्तम्भ अझै रोमको सेन्ट प्राक्स्ड चर्च र आयरल्याण्डको डब्लिनमा छ ।

औपचारिक रुपमा सन ४९६ देखी पोप ग्ल्यासियस प्रथमले भ्यालेन्टाइन डे लाई सार्वजनिक रुपमा विदा दिँदै प्रेम दिवसको रुपमा मानिँदै आएपनि पछि आएर सन १९६९ मा पूर्ण रुपमा रोमका पोप पाउल चौथोले प्रचलित क्यालेन्डरबाटै यो दिनलाई हटाएका थिए ।

तर क्यालेन्डरबाट हटाइएपनि जनमानसको मनबाट भने यो दिनलाई हटाउन सकिएन । फलस्वरुप चौधौँ, पन्ध्रौँ शताब्दीतिर बाट यो दिन झनै विकसित भएर अघि बढेको पाइन्छ ।

क्याथोलिक धर्मले अर्को पनि भ्यालेन्टाइन भएको बताए पनि उनको बारेमा त्यति जानकारी भने अझै सम्म थाहा हुन सकेको छैन । उनलाई पनि १४ फेब्रुअरी कै दिन उनका धेरै अनुयायीहरुसँगै अफ्रिकामा फाँसी दिइएको भन्ने कुरा छ । तर उनको बारेमा धेरै जानकारी भने कतै पाउन सकिँदैन ।

सेन्ट भ्यालेन्टाइनको नाममा प्रेम दिवस मनाउने गरिए पनि धेरै भ्यालेन्टाइनहरुमध्ये कुन चाहीँ भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइएको हो भन्ने कुरा चाहीँ स्पष्ट छैन । तर पनि यो दिवस प्रेम आदान प्रदान गर्ने दिनको रुपमा भने झन्झन् विकसित हुँदै गइरहेको छ ।

एउटा सत्य कुरा के भने यो दिन कति प्रेम जोडीहरु एकअर्कालाई भेट्न चाहन्छन् भने प्रेम सम्बन्धमा नरहेकाहरु पनि कोही आफुले एकोहोरो प्रेम गरिरहेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने ध्याउन्नमा हुन्छन् । अनि कति चाहीँ दिनभरि कसै न कसैले प्रस्ताव राख्छन् की भनेर पनि पर्खिएर बस्छन् ।

अझै पनि कसै कसैले यसलाई विदेशी संस्कार हो भन्दै हामीले किन अनुसरण गर्ने भनेर तर्क राख्ने पनि गर्दछन् । तर बुझ्नुपर्ने कुरा के हो भने, यदि आयातित प्रवृतिले हामीलाई सकारात्मक प्रभाव पार्छ भने त्यो कसरी नराम्रो ? थोरै समयमा यो दिनले यसरी नेपाली युवा मनमा पनि निक्कै ठाउँ लिन सक्नु नै यो सही छ भन्ने प्रमाण होईन र ?

नेपाली समाजले अझै पनि प्रेमलाई सहज तवरले स्वीकार आनाकानी गर्छ । तर अधिकांश युवा प्रेमबाट टाढा रहन सक्दैनन् । यस्तो अवस्थामा हाम्रो समाज र युवा जमात बिल्कुल विपरित देखिन पुग्छन् । प्रेम त्यस्तो चिज हो, जसलाई दबाउन सक्दै सकिन्न । फेरी पनि हाम्रो समाजमा भने अझै पनि सांघुरो मानसिकताले काम गरिरहेको पाउन सकिन्छ ।

भकुण्डोलाई जति तल दबाए पनि झनै माथी उफ्रिन्छ भनेझैँ भइरहेको छ, नेपाली समाजमा प्रेमको कुरा । समाजले तल दबाउन खोज्छ अनि प्रेम चाहीँ झनै झाङ्गिदै अघि बढिरहेको छ ।

हामीलाई त वाहाना चाहिएको छ, जीन्दगी बाँच्ने । जीन्दगी बाँच्ने विभिन्न प्रक्रिया अन्तर्गतको अति नै अपरिहार्य तत्व हो प्रेम । यो बिना हामीले बाँचिरहेको जीन्दगी, जीन्दगी जस्तो नै हुँदैन । अरु नै केही जस्तो हुन्छ ।

अनि त्यही प्रेम भन्ने अनुभुतीलाई अझ विशेष गरि झस्काउन आउने त्यो दिन भनेको पनि एउटा वाहाना त हो नि, हामीलाई आफ्नै प्रेमसँग नजिक बनाउने ।
त्यसैल पनि अन्तिममा यत्ति कामना गर्दै यी भावहरुलाई यहीँ रोक्न चाहन्छ ।

प्रेममय होस् प्रेम दिवस, कतै कसैलाई घात नहोस् ।
कागलाई बेल पाक्यो हर्ष न विस्मात नहोस् । ।

Tuesday, February 11, 2014

वहकिने मन 90: वर्ष 2 अंक 36 (2070-10-27) प्रेम दिवश विशेष

कार्यक्रम : बहकिने मन
मिति :  (2070-10-27)
प्रस्तोता :महावीर विश्वकर्मा


Valentine's Day Special

नमस्कार !
'वहकिने मन' रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम हो ।  

कार्यक्रमको आजको श्रृंखलामा ''प्रेम सम्बन्धमा प्रेम दिवसले कस्तो महत्व राख्छ ?'' भन्ने विषयमा चर्चा गरिएको छ ।
Listen And Download
                             Download : Click Here to Download

Friday, February 7, 2014

मुक्तक


देख्छु सबैको मालामाल भाको छ ।
आफ्नो त, ताल न बेताल भाको छ । ।
तिमी के छ खबर ? भनेर मात्रै सोध्छौ
के सुनाउँ, जीन्दगी बेहाल भा को छ । । ।

Tuesday, February 4, 2014

मुक्तक

पाईला—पाईलामा मान्छे विष पिएर बाँच्छ ।
फेरी पनि अमृत सम्झिएर बाँच्छ । ।
बाघ हुँ त भन्छ, म्याउँ गर्छ सँधै
कुकुर भुक्दा पनि आत्तिएर बाँच्छ । । ।

मुक्तक

एउटा यस्तो मान्छे होस्, जस्ले मलाई आफ्नो ठानोस् ।
नभनेर लुकाएका मनका कुरा आफै जानोस् । ।
कहाँ छु म, के गर्दैछु सबै सोधिरहोस् मलाई
छिनछिनमा म्यासेज गरोस्, छिनछिनमा मिसकल हानोस् । । ।

मुक्तक

म तिम्रो शहरमा अन्जान भइरहेँ ।
सबै लुटाएर पनि बेइमान भइरहेँ । ।
तिमीसँग लिनुदिनु केही छैन मेरो
फेरी पनि हरेक पटक बदनाम भइरहेँ । । ।

मुक्तक

म हुन्छु हुन्न भोली, याद बेरेर बाँच्नु ।
बाँच्नुको अर्थ हुन्छ, धोको फेरेर बाँच्नु । ।
दुनियाँदेखी नै अचेल, विरक्त लाग्दैछ मलाई
मैले हेर्न बाँकी, सँसार हेरेर बाँच्नु । । ।

मुक्तक

रुँदारुँदै खुशी मिले, हाँस्नुको पनि मज्जा ।
केही तनाव सँधै भए, बाँच्नुको पनि मज्जा । ।
भिर पाखामा फूलिदिने फूल जस्तै भए जीवन
चिथोरिँदै काँडाहरु भाँच्नुको पनि मज्जा । । । 

मुक्तक

म ढुङ्गो भन्छु, देउता भन्छ दुनियाँ ।
अर्कै लाग्छ मलाई, एउटा भन्छ दुनियाँ । ।
म उस्तो हो की, यो सँसारै त्यस्तो
बाँच्नु भनेको त सम्झौता भन्छ दुनियाँ । । । 

मुक्तक

हो, म आज त्यही दिन सम्झिरहेछु ।
बिर्सेर पनि फेरी, केही छिन सम्झिरहेछु । ।
तिमीले आफ्नो फैसला सुनाउँदा
म रुँदा भिजेको, जमिन सम्झिरहेछु । । ।

मुक्तक

कहाँ पुग्यो होला मलाई रुवाउने मान्छे ।
गर्भका सपनाहरु, आफै तुहाउने मान्छे । ।
कुन्नि किन हो अचेल सम्झना बनेर आउँछ
अमृतको घडा देखाई, जहर खुवाउने मान्छे । । ।

मुक्तक

उ आयो, अनि मलाई थुम्थुमाएर गयो ।
हँसाउँछु भन्थ्यो तर रुवाएर गयो । ।
भुल्नु भन्दैथ्यो उ, म हुन्न भन्दैथेँ
गीता, कुरान र बाईबल छुवाएर गयो । । । 

मुक्तक

न हावाले रुवायो, न पानीले रुवायो ।
मलाई त मेरै जीन्दगानीले रुवायो । ।
जसलाई परेलीले ढाकेर राखेँ
आज त्यही आँखाको नानीले रुवायो । । । 

मुक्तक

टीका होस् जमरा होस्, निधार कसैको खाली नहोस् ।
फल्ने फुल्ने आशीर्वाद होस्, कसैलाई पनि गाली नहोस् । ।
हाँस्नु अनि हँसाउनु, शुभकामना दशैँको
मन दुख्ने, दुखाउने...कुरो यसपाली नहोस् । । ।

मुक्तक

म एउटा यस्तो आश गरिरहेछु ।
प्रकृतिको नियम तोड्ने विश्वास गरिरहेछु । ।
मान्छे एक्लै बाँच्न, सक्दैन भन्ने सुनेदेखी
त्यही सम्भव बनाउने अभ्यास गरिरहेछु । । । 

मुक्तक

सुपारी दिन्छु अनि फिरौती दिन्छु । ।
पेश्कीमा केही रकम थमौती दिन्छु । ।
तर काम शतप्रतिशत फत्ते हुनुपर्छ
मन किनेर देखाउ म चुनौती दिन्छु । । । 

मुक्तक

भिजेको आँखा पुछेर बाँच्नुपर्छ ।
आँशु दर्किँदा सँधै रुझेर बाँच्नुपर्छ । ।
पाउनु र गुमाउनु त रित नै हो जीन्दगीको
फरक यत्ति न हो, बुझेर बाँच्नुपर्छ । । । 

मुक्तक

केही चिनेका अनि केही नचिनेका मान्छेहरु ।
कतै देखिएका तर सँगै नहिनेका मान्छेहरु । ।
खै किन हिजोआज सम्झनामा आईरहन्छन्
धेरै पहिले बीच बाटोमै उछिनेका मान्छेहरु । । ।

मुक्तक




मन साँट्नेहरु भेटिए, मुटु साँट्नेहरु भेटिए ।
तिमी मेरै हौ भन्दै मलाई आँट्नेहरु भेटिए । ।
जब महावीरले आफ्नो जात खुलायो नी
अनि बजार भरि कुरा काट्नेहरु भेटिए । । ।

मुक्तक

कोही आउँछन् कोही जान्छन्, जीन्दगानी चलिरहन्छ ।
जाँदाजाँदै सबै लान्छन्, जीन्दगानी चलिरहन्छ । ।
याद हो की, पिडा हो त्यो, दिलमा टाँसिएर बस्छ
आँशु छालले सँधै हान्छन्, जीन्दगानी चलिरहन्छ । । ।

मुक्तक

म त दुर्घटनाको समाचार लेखिरहेछु ।
प्रत्यक्षदर्शीको पनि विचार लेखिरहेछु । ।
सनाखत हुन बाँकी केही देख्दैछु यहाँ
यादहरु पो रैछन्, लगातार लेखिरहेछु । । ।

वहकिने मन 89: वर्ष 2 अंक 35 (2070-10-20)

कार्यक्रम : बहकिने मन  
मिति :  (2070-10-20)
प्रस्तोता :महावीर विश्वकर्मा

नमस्कार ! 

'वहकिने मन' रेडियो जागरण बुटवल र सामुदायिक सूचना नेटवर्क को सहकार्यमा उत्पादन भई देशभरिका ९० भन्दा सामुदायिक रेडियोबाट सोमबार राती ९:१५ बजे एकैसाथ प्रसारण हुने कार्यक्रम हो ।

''यादहरु किन सँधै सँगै रहि रहन्छन् ?'' भन्ने विषयमा चर्चा गरिएको आजको श्रृंखलामा साहित्यकार नयनराज पाण्डेको विचार समेटिएको छ ।  

Listen And Download
                           Download : Click Here to Download

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget