Sunday, February 8, 2015

'पहाड जस्तै म'

-महावीर विश्वकर्मा

खिच्नेले
पहाड जतिकै अग्लो बनाएर खिचिदिएपछि
मलाई उभिनुमा के को हिन्नता
हेर्नेले
पहाडसँग समानान्तर हेरिदिएपछि
मलाई देखिनुमा के को लाज
अनि सोँच्नेले
पहाड जस्तै सोँचिदिएपछि
मलाई पहाड जस्तै भइदिन के को सकस

यो फरक कुरा हो की
त्यो पहाड
घुच्चुकमा पाखो बोकेर
घुरमैलो आकाश हेर्छ
उडिजाने बादल हेर्छ

म बगलीमा हात घुसारेर
बगी जाने खोला हेर्छु,
रुकी बस्ने बगर हेर्छु

त्यो पहाड पनि
पर्खिबस्ला बादललाई
भलै त्यो नदोहोरिएपनि
अनि म पनि
कुरी बसुँला खोलोलाई
भलै त्यो नफर्किएपनि

मलाई एक सर्को छोएर
खोलासँगै वहि जाने बतास
सोँच्दो हो,
पहाड सँगै छुटि गो
एउटा पहाड जस्तो मान्छे ।
अनि पहाड जस्तै कुरी बस्छ
एउटा पहाड जस्तो मान्छे । ।
Categories:

0 comments :

Post a Comment

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget