• Red Rose 1 : Hosting Program by Mahabir Bishwakarma.

  • क्याप्सन : फस्ट लभ पुस्तकका सम्पादक अजीत बराल, समर लभ उपन्यासका लेखक सुबिन भट्टराई र टेलिभिजन कार्यक्रम मेरो गीत मेरो सन्देशकी सञ्चालक शिवानीसिंह थारुको पहिलो प्रेम बारे वहकिने मनको लागि कुराकानी गर्ने क्रममा प्रस्तोता महावीर विश्वकर्मा...

  • Slide 2 : Presenting Speech on Dalit Agenda and The Role of Social Movemnet.

  • Slide 3 : In A Program .

  • Slide 4 : The Light of Asia - Gautam Buddha was born in Nepal .

  • Slide 5 :Mahabir Bishwakarma.

  • Slide 6 : Mahabir Bishwakarma.

  • Slide 7 : Dhanding Training

  • Slide 8 : Dhading Training Photo

  • Slide 9 : with Fan of Bahakine Man at parasi

  • Slide 10 : with Fan of Bahakine Man at parasi

  • Slide 11 : Me : Mahabir Bishwakarma.

  • Slide 12 : Bahakine Man Euta Bhindai Radio Karyakram.

  • Slide 13 : Muktak Special Program Bahakine Man.

Wednesday, April 16, 2014

वहकिने मन 99: वर्ष 2 अंक 45 (2071-01-01)

बहकिने मन BAHAKINE MAN
DATE : (2071-01-01/14-04-2014)
Time : 9.15pm Every Monday       

Host :  Mahabir Bishwakarma         

Phone-977-01-5260646 

Facebook : Bahakine Man


FM: CIN Network 



Listen and Download
 
Download : Click Here to Download

Wednesday, April 9, 2014

मुक्तक

यात्राबाट एउटा मान्छे कम भएको छ ।
सम्झनामा भने धमाधम भएको छ । ।
छ न त छ एउटा बाँच्नैपर्ने जीवन
त्यो पनि त हिजोआज खत्तम भएको छ । । ।

महावीर विश्वकर्मा

Tuesday, April 8, 2014

वहकिने मन 98: वर्ष 2 अंक 44 (2070-12-24)

बहकिने मन BAHAKINE MAN
DATE : (2070-12-24/07-04-2014)
Time : 9.15pm Every Monday       

Host :  Mahabir Bishwakarma         

Phone-977-01-5260646 

Facebook : Bahakine Man


FM: CIN Network 


Listen and Download
                       Download : Click Here to Download

Tuesday, April 1, 2014

वहकिने मन 97: वर्ष 2 अंक 43 (2070-12-17)

बहकिने मन BAHAKINE MAN
DATE : (2070-12-17/31-03-2014)
Time : 9.15pm Every Monday       

Host :  Mahabir Bishwakarma         

Phone-977-01-5260646 

Facebook : Bahakine Man

FM: CIN Network 




''प्रेम सम्बन्ध छुटेको वर्षौँ पछिसम्म पनि, त्यो हिजोको आफ्नो मान्छेलाई किन बेलाबखत सपनामा देखिन्छ होला ?''

लेखक विमल आरोहीको विचार सहितको 'वहकिने मन'




Listen and Download
                            Download : Click Here to Download

वहकिने मन (२०७०-०३-३१)

खुशीहरु अन्तै बन्धकी जस्तो ।
जीन्दगी पनि छैन जीन्दगी जस्तो । ।
स्वार्थी दुनियाँ यो के के गर्दैछ
मनको व्यापारमा पनि ठगी जस्तो । । ।

................न सकिन्छ गरि खान, नसकिन्छ मरि जान बुढेसकालैमा...........

उबेला चौतारोमा बाघचाल खेलेर बस्दा जेठको टन्टलापुर घाममा भारी बोकेर आएको एकजना भरियालाई सोधेको थिएँ मैले, यो उमेरमा पनि यत्तिको दुःख उठाउनु भा छ, छोराछोरी छैनन् र दाई ? त्यतिबेला मेरो प्रश्न सुनेर ती झुत्रे देखिने दाईले गहभरि आँशु बनाएका थिए । 

अनि फाटेको टोपी शिरबाट झिकेर त्यसैले त्यो गह पुछ्दै मलिन आवाज निकालेर भनेका थिए—“बाह्र छोरा तेह्र नाती, बुढाको धोक्रो काँधै माथी ।” आफुले छोराछोरीलाई दश नङ्ग्रा खियाएर दुखजेलो गर्दै बिहावारी गराएर राखिदिएको तर कहिलेकाहीँ उनीहरुको घरमा जाँदा पनि नआइदिए हुन्थ्यो भनेजस्तो व्यवहार गर्ने बेलिविस्तार सुनाउँदा सुनाउँदै ती भरिया दाई भक्कानिएका थिए । खै किन हो मलाई भने त्यतिबेला उनको कुरा पत्यार नै लागेको थिएन । आफ्नै छोराछोरीले पनि त्यसो गर्छन कि क्या हो जस्तो लाग्थ्यो ।

तर समय सँधै एकनास कहाँ हुँदो रहेछ र । समयको चक्र त लगातार घुमिरहँदो रहेछ । त्यो चक्र घुम्दै आउँदा थाहै नपाईकन आफैलाई पनि झटारो हानिसक्दो रहेछ त्यसले, हामी सानो छँदा स्याङ्तान काकाको आँपको बोटमा आँप झार्न लट्ठीले झटारो हानेजस्तो । तर त्यतिबेला “आए आँप गए झटारो” भने जस्तो सजिलो भने नहुँदो रै छ यो समयको घुँयत्रो । 

छिनछिनमै बिझाइरहँदो रहेछ यसले । उबेलामा छोराछोरी सग्लै हुर्काएको देख्दा छिमेकीहरुले निक्कै भाग्यमानी छौ तिमीहरु भन्थे हामी बुढाबुढीलाई । हामी पनि त्यति सुन्न पाउँदा सबै दुख पिर भुलेर मुरीका मुरी खुशीहरु मनको भकारीमा घोप्ट्याउँथ्यौँ । 

कहिलेकाहीँ बेलुकी सुत्ने बेलामा बुढीले सोध्थी, “यति दुख गरेर खाई नखाई हुर्काएका छौँ यिनीहरुलाई, पछि हामीलाई बुढेसकालमा हेर्छन होला त कालेका बा ?” अनि म उसको मनलाई सान्त्वना दिँदै भन्थेँ, ढुक्क भएर बस् कालेकी आमा, हाम्रो बुढेसकालको लाठी भनेकै यिनीहरु नै त हुन् नी, कर्म गर्नु फलको आशा नगर्नु भन्छन्, भगवान छन् नी माथी, केलाई चिन्ता गर्छेस् । 

केही गरि हेरेनछन् भने पनि म छँदै छुनि, रुख मुनि राखेर भएपनि पाल्छु नि तँलाई । त्यतिबेला खुइइय्य्य गर्दै लामो सास फेरेर उ भन्थी, त्यस्तो दुःखको दिन देख्नुभन्दा त कालले चाँडै लगिदियोस् बरु । 

मलाई उसको त्यो इच्छाले भित्र कतै गहिरोसँग नराम्ररी घोच्थ्यो । त्यति नै बेला मेरो घोचाईलाई बेवास्ता गर्दै उ फेरी नजानिँदा पारो अर्को प्रहार गर्थी, भन्थी-“कालेको बा, तिम्लाई भन्दा त मलाई नै पहिला लगोस् कालले पनि । तिमी पहिला गयौ भने त म कसरी पो बाँच्नु ? तिमी त लोग्ने मान्छे, जसोतसो गुजारा गरिहाल्छौ नि ।” 

उसको पछिल्लो कुराले भोली आईपर्ने ठुलो प्रलयले यतिबेला झिलिक्क दर्शन दिएर गएजस्तो महसुस गर्थेँ म । अनि हतासमा  गाली गरि टोपल्थेँ, “हैन यो आईमाईलाई बेलाबेलामा के हुन्छ हँ ? जे पायो त्यही बोल्छे, चुप लागेर सुत् । भोली विहानै काजीको रोपाईँमा जानुपर्छ ।”

खै त्यतिबेला मेरो एकखाले आदेश स्वीकार्दै उतापट्टि कोल्टे फर्केकी उ निदाउँथी की निदाउँथिन् त्यो त भेउ पाउँथिनँ म । तर म भने मनमा अनेक कुरा खेलाउँदै भालेको डाँकसम्म अनिँदो रहन्थेँ ।

केही वर्षहरु यसरी नै अनेक थरिका दुखहरु गर्दागर्दै बिते । हामीलाई त बल्लबल्ल एउटा दिन बिताएजस्तो लाग्थ्यो तर थाहै नपाईकन लगातार वर्षहरु पनि बितिरहेका हुन्थे । छोराछोरी हुर्कायौँ, अलिअलि अक्षर खुट्याउनेसम्म बनाइदियौँ पनि । 

गच्छे अनुसारले बिहावारी पनि गरिदियौँ, बिस्तारै सबै लाखापाखा लागे । घर रुङ्ने त उही बुढाबुढी मात्रै भइगयौँ । लोग्नेस्वास्नी भनेको उमेरको आवश्यकता, बुढेसकालको अनिवार्यता हो रे भन्ने सुनेथेँ । हामीलाई पनि त्यस्तै लागिरहेको थियो । छोराछोरी पनि लाखापाखा लागेपछि त सँसारमै हामी दुई जना मात्रै हौँ एकअर्काको लागी जस्तो लाग्थ्यो ।

तर दैवको लिला परार सालको पहिरोले कालेकी आमासँगै घरपनि पुरिदियो । २ दिनअघि मात्रै कान्छी छोरीलाई घिउ पुर्याउन म चाहीँ वेशी तिर झरेकोले हामी दुईलाई एकअर्काबाट छुट्याउन सफल भयो त्यो पहिरो । सायद यो जुनीमा मसँगको दुख यति मात्रै भोग्नु थियो क्यारे उसले । 

मैले त्यतिबेला उसले वर्षौँअघि भनेको सम्झिएँ,— “कालेको बा, तिम्लाई भन्दा त मलाई नै पहिला लगोस् कालले पनि । तिमी पहिला गयौ भने त म कसरी पो बाँच्नु ? तिमी त लोग्ने मान्छे, जसोतसो गुजारा गरिहाल्छौ नि ।”

सायद भगवानले पनि सुनेछन् क्यारे उसको पुकार । १३ दिनको काम नसकुञ्जेल त छोराछोरीहरु पनि सँगै रहे । तर जब काम सकियो । अनि त एकवचन हामीसँगै हिँड बा समेत नभनिकन हामी गयौँ, राम्ररी बस् है भनेर आ—आफ्नो बाटो लागे । यत्रो विपत्ति परेको बा कसरी राम्रोसँग बस्न सक्लान र भन्ने सम्म सोँच्दा पनि सोँचेनछन् तिनीहरुले ।

कालेकी आमा, यदि तँ माथीबाट मलाई सुन्दैछेस् भने सुन्, तँ गएदेखी नै शुरु भएको हो मेरो बेसाहारा दिनहरु । चौतारोमा भरिया दाईले “बाह्र छोरा तेह्र नाती, बुढाको धोक्रो काँधै माथी” भनेको साँच्चै हो रै छ बाबै । अभागी खप्पर, ठक्करै ठक्कर भइरा’छ तँ गएपछि ।

सपनामा नदेखेको त्यस्तो कुनै रात छैन ।
रुन्छु भन्छु एकान्तमा, पुछिदिने हात छैन ।
यसो गर्लान, उसो गर्लान कत्ति कत्ति सपना देखेँ
जति सन्तान भएपनि बुढेसकालमा साथ छैन । । ।

...........शिरको फूल ओईलाएर भुइँमा झर्दो रै छ...........

घरले जा जा ...बगरले आइजे आइजे भन्ने उमेर भइसक्यो । गरेर खान नि सकिन्न, मरेर जान नि सकिन्न । मैले भनेको पुग्थ्यो भने त, म त परार जस्तै पहिरो फेरी पनि आओस् अनि छाप्रोसँगै मलाई पनि बगाएर लगोस् भन्ने कामना गर्थेँ नि । तर के गर्नु, भावीको लेखा , मेटेर नमेटिँदो रैछ । अझै कति दुःख खेप्न बाँकी नै छ होला, के यति चाँडै लैजान्थे र माथी ।

बुढ्यौली लागेर त होला नि, पहिले जस्तो ताकत पनि छैन जीउमा । यसो केही गरुँ भन्यो, एकैछिनमा नौ नारी गलेर आउँछ । यो बुढेयौली भनेको त बालखा जस्तै हुँदो रैछ । काम गर्न नसकिने तर मुखले चाहीँ फेरी केही मिठो खान पाए पनि हुने भनिरहने । 

बालखा र बुढ्यौलीमा एउटा फरक चाहीँ के हुँदोरहेछ भने, बालखामा जे खान मन लागेपनि सजिलैसँग माग्न सकिने तर बुढ्यौलीमा चाहीँ प्वाक्क मुख फोरेर माग्न आँटै आउँदैन रहेछ । निक्कै नै अफ्ठ्यारो लाग्दो रहेछ । के सोँच्लान मैले यसरी माग्दा भन्ने सोँच्न पुगिँदो रहेछ । बरु बुझेर दिएपनि हुने भन्ने चाहीँ लागिरहँदो रै छ मनमा ।

पहिला छोराछोरी सानो हुँदा यिनीहरुको मनको कुरा सबै बुझ्थ्यौँ हामी । उनीहरुले बोल्न नसकेपनि कतिखेर भोक लाग्छ, तिर्खा लाग्छ, निन्द्रा लाग्छ सबै थाहा पाउँथ्यौँ । तर बुढाबुढी भएका आमा बाउको मनको कुरा चाहीँ त्यसरी बुझ्न सक्दारहेनछन् छोराछोरीहरु । बुझेर पनि नबुझ्दा रहेछन् । 

उबेला करेसामा थाँक्रोमाथी फलेको काँक्रोको भेट्नुमा कपेसोले चेपेर एकफेर घुमाएपछि भकारोको छेउको झारमा खस्थ्यो । अनि अम्खरोको पानीले पखालेर चुलेसीले पहिले भेट्नु काटेपछि छोराछोरीहरुलाई अघिल्तिर राखेर तितो तितो जा..मिठो मिठो आईजे...भन्दै काटिएको भेट्नु त्यही काँक्रोमा रगट्दथ्यौँ । 

एकछिन रगटेपछि फेरी पातलो चाना काटेर फाल्थ्यौँ र चरचर चिरेर थालमा राख्दै सिलौटोमा पिसेको नुन र हरियो खुर्सानी दलेर किरिक्क टोक्थ्यौँ । उनीहरुलाई भने पिरो नहोस् भनेर नुन मात्रै दलेर दिन्थ्यौँ । खुब्बै खुशी हुन्थे उनीहरु, अनि त काँक्राभन्दा मिठो उनीहरुको खुशी लाग्थ्यो । ति नै खुशीहरु फेरी दोहोरिदिए नि हुन्थ्यो भन्ने लाग्छ । तर सोँचेको सबै कहाँ पूरा हुँदोरहेछ र ।

हामी त  आफैले थाहा पाएर खुवाउँथ्यौँ यिनीहरुलाई । तर आज ति नै छोराछोरीहरु हामीलाई भोक लाग्दा तिर्खा लाग्दा, भनेपनि सुन्दैनन्, नसुनेझैँ गर्छन । अरु नै कुरा गरेर टार्न खोज्छन् । हिजो ताते ताते गर्न सिकाउने त्यही बाउआमा आज बोझ बन्न पुग्दोरहेछ । बडो अचम्म छ समय पनि ।

कसैले ठीकै भनेको थियो, “आमा बाबुको मन छोराछोरी माथी, छोराछोरीको मन ढुङ्गामुढा माथी” । अब बुढेसकालका बाउ आमा माथी मन नराखेपछि त ढुङ्गामुढा माथी जस्तै त भइगयो नि ।

भन्न त भन्थे ज्योतिषी बा ले बुढ्यौलीमा दुःख पाउन लेखेको छ भनेर । त्यो दुःख भनेको यही नै त होला नि । आफ्नै सन्तानबाट पनि तिरस्कार हुनु जत्तिको दुःख अरु के नै पो होला र । सायद साँढे साती शुरु भएको हो की जस्तो लाग्दैछ अचेल त । 

कहिलेकाहीँ त यस्तो लाग्छ बरु कोख बाँझै भएको भएपनि हुने । भए सय शोक नभए एकै शोक । बरु छोराछोरी नभएकोले दुख पाउनुप¥यो भन्न पाएको भए यतिधेरै आँशु खस्ने थिएन होला, जति आज छोराछोरी भएर पनि बेवास्तामा पर्दा खसिरहेको छ । के हुँदो रै छ र खै । छोरा पाए बुहारीको लागि, छोरी पाए ज्वाईँको लागि त रै छ नि । बुढेसकालमा त आफ्नै बुढाबुढी त हुँने रै छ नि साथमा ।

त्यै पनि दुवैजना बेसाहारा, देला र खाउँला भनेर टुलुुटुलु हेर्दै बस्नुपर्ने । भोक लागेर पनि नलागेको जसरी एक अर्कालाई हेरेर सकेसम्म अनुहार उज्यालो बनाउनुपर्ने, साहारा दिनुपर्ने । आफ्नो त त्यसो पनि भएन, पापी कालले चुँडेर लगि गो परारै ।

जीन्दगीको अचम्मको आकार हुँदो रै छ ।
बुढेसकालमा सबै मान्छे लाचार हुँदो रै छ । ।
भोक लाग्दा खाना हुन्न, तिर्खा लाग्दा पानी
आफन्तको पनि रुखो व्यवहार हुँदो रै छ । । ।

......आँखा कमजोर हुँदै गयो...........

वहकिने मन (२०७० श्रावण ७)

बाढी पहिरो ल्याउने वर्षे झरि पो देख्छु ।
सपना पनि अचेल अनेकथरि पो देख्छु । ।
परदेशी भूमि, गाउँको यादले साह्रै नै सताउँछ
साथीभाई सँगै छिमेकी देख्छु, गाईवस्तु धरी पो देख्छु । । ।

((((((हर रात ऐठन हुन्छ, दिप श्रेष्ठ)))))))

परदेशी भूमि, बिरानो ठाउँ, यो टन्टलापुर घाममा पसिनाले निथ्रुक्क भिजेर म सोँचिरहेछु । यतिबेला त हाम्रो गाउँ पनि निथ्रुक्क भिजेको होला, वर्षे झरिले, हामी पसिनाले भिजेजस्तै । आमा...झरीेले बाटोभरि ग्याज ग्याजी हिलो बनायो होला है...चिप्लिएर हिँड्नै नसक्ने गरि । 

पिंढीका डिलपनि बाछिटाले भिजेर उप्केको होला, खरको छानो चुहिएर यसपाली पनि रातभर जाग्राम पो बस्नुप¥यो की । रोपाईँ त सकियो होला नी है, अनि अहिले त त्यो पाखो बारीमा पनि मकैका बोटहरु बढेर घर पछाडीको जङ्गल जस्तै बाक्लो भए होलान् । मकैका बोटहरु बढेर त्यहीँ परको शंकर दाईको घर पनि छेकिने भयो होला अहिले त । 

जङ्गलको बीचमा बस्ती बसेको जस्तो देखिएको होला हाम्रो गाउँ । म घरमा छँदै कान्छी दिदीले तपाईँलाई उपहार दिएको पोथीले घरै भरिने गरि कुखुरा बढाएका छन् रे भन्ने सुनेथेँ । अनि अस्ति मात्रै दुईटा त हाप्सिलोले लगेको पनि सुनाउँदैथ्यो दाईले । जङ्गल छेउको घर, झन त्यै माथी अहिले त मकैबारीले गर्दा कताबाट हाप्सिलो आयो भन्ने नै थाहा हुँदैन होला ।

गाउँ कस्तो भएको छ कुन्नी, खुब्बै याद आउँछ आमा । त्यो हामीले पौडी खेल्ने मरताल खोला पनि अहिले त उर्लेर बग्दै होला है । सब्बै सब्बै त सोधेर के साध्य लाग्थ्यो र, तैपनि गाउँमा के भइरहेको होला भन्ने कुरा चाहीँ मनमा खेलिरहँदो रहेछ, यो सात समुन्द्र पारीको बिरानो देशमा आइपुगेपछि ।

केही दिन भयो अचेल सपना पनि नराम्रो देख्न थालेको छु । गएराती पनि त्यस्तै देखेथेँ, म गाउँ आइपुगेको हुँदो रैछु, मनमा त्यो हाम्रै गाउँ हो भन्ने लागेपनि, त्यो गाउँ हाम्रो जस्तो चाहीँ नहुँदो रैछ । सुनसान हुँदो रैछ, उराठ हुँदो रैछ । 

मैले झिसमिसेमा भालेको पहिलो डाँकसँगै छोडेको गाउँ अर्कै भइसकेको हुँदो रहेछ । गाउँभन्दा पनि एकलास निर्जन ठाउँ पो हुँदो रहेछ त्यो त । हाम्रो घर पछाडीको जङ्गल पनि भत्किएको पो हुँदो रैछ । गाउँलेहरु पनि कतै नहुँदा रैछन् । झ्वाट्ट हेर्दा बस्ती नै मासिएको जस्तो देखिँँदो रहेछ त्यो ठाउँ । 

एकछिन त यसै टोलाउँदो रहेछु म । अनि एक्कासी एकजना बुढो मान्छे घाँसको भारी बोकेर कता हो कताबाट फुत्त मेरो अगाडी आईपुग्दो रहेछ । म उसैलाई सोध्दो रहेछु, यो गाउँका मान्छेहरु कता गए बा ? घरहरु पनि खासै देखिँदैनन् ? अनि त्यो बुढो मान्छे मतिर नफर्किकनै जवाफ फर्काउँदो रैछ, के भन्ने बाबु, दैव लागी गो नि, सखापै पार्यो नि । 

म झन् आत्तिन पुग्दो रहेछु, अनि हत्तारिएर सोध्दा रैछु, हैन के भयो र बा...के भन्नु भा तपाईँले ? त्यो बुढो मान्छे थप केही बोल्दो रहेनछ । मात्र अघिल्लो जवाफ फेरी दोहोर्याउँदो रहेछ एकपटक, दैव लागी गो नि, सखापै पार्यो नि । ती बुढो मान्छेले त्यही कुरो बारम्बार दोहोर्याइरहँदा म भने कता हो कता हराए झैँ हुन पुग्दो रहेछु ।

बाल्यकालका साथीहरुसँगै सबै आफन्तहरु, छिमेकीहरु, गाउँलेहरु एकैचोटी मेरो आँखा वरिपरि झल्याक झुलुक देखिन आउँदा रैछन्, ठम्याउनै नसकिने गरि । अनि फेरी कोही रोए जस्तो, कोही चिच्याए जस्तो गरि एकखाले कोलाहल मच्चाउँदै तत्कालै हराउँदा रहेछन्, कताकता ।

म निकै ठुलो प्रलयको अड्कल गरेर टोलो हुँदो रै छु, केही बोल्न खोजेर पनि बोल्नै सक्दिन रहेछु त्यतिबेला । बलजफती चिच्याउँदो रै छु म । अनि त्यति नै बेला ब्यूँझिएको मलाई यहाँ सँगै सुतेको साथीले झक्झक्याइरहेको पो हुँदो रै छ, के भयो तँलाई भन्दै ।

दार्चुलामा बाढी पस्यो रे भन्ने सुनेँ, धनगढीको केही गाउँ डुबानमा पर्यो रे भन्ने पनि थाहा पाएँ । त्यसपछि त झनै गाउँको याद लगातार आइरहेको छ आमा ।

ज्यान मात्र हुन्छ आमा, मन हुन्न परदेशमा ।
पसिनाको खोलो हुन्छ, धन हुन्न परदेशमा । ।
हुरी चल्दा, पानी पर्दा गाउँको यादले सताउँछ
भिस्सा हुन्जेल काम हुन्छ, जीवन हुन्न परदेशमा । । ।


(((((((डाँडापारिको घामलाई हेर्छु, आमा र बाबा सम्झिरहन्छु(((((((((((

हो यस्तै चिन्ता लागिरहन्छ अचेल । बाढी आएर खेतै बग्यो की, न पहिरो आएर गाउँ नै भासियो की । यस्तै यस्तै तर्कनाहरु खेलिरहन्छन् मनभरि । जति सम्झाउन खोजेपनि फिटिक्कै मान्दैन, यो मन ।

आज त साउनको पहिलो सोमबार हो क्यारे, गाउँका साइँली, माइली र चमेलीहरु पनि ब्रत बसे होलान् है । सबै दिदी वहिनीको हातमा हरियो चुरा छर्लङ छर्लङ बजिरहेको होला । हत्केलामा मेहेन्दीले अनेकथरि आकृति कोरिएका होलान् । अनि कति साथीहरु त बोलबम पनि गए होलान् है । 

कति चाहीँ रमजानमा व्यस्त भएका होलान् । उताभन्दा पनि यता पो छ त रमजानको चहल पहल त । एकबारको जुनीमा भ्याएसम्म परदेश चाहीँ पुग्नु नै पर्दो रहेछ आमा । धेरै कुरा जानिँदो रहेछ । गाउँमै भएको भए यो वर्षामा सायद म पनि साथीहरु भेला गरेर गोठमा तास खेलेर दिन बिताइरहेको हुन्थेँ होला । 

तर यहाँ आएपछि बुझेको छु, श्रम भनेको के रैछ भन्ने । हामीले अल्छी गरेर दिन बिताउँदा त्यसले देशको विकासमा कत्ति ठुलो नोक्सानी पु¥याएको हुँदो रै छ भन्ने पनि जानियो यहाँ आएर । धरै नयाँ नयाँ खानेकुराहरु देखियो, कति त चाखियो पनि अनि कति चाहीँ टाढैबाट हेरेर मन बुझाइयो । 

तर जे जस्तो भएपनि बनको चरी बनमै रमाउँदो रैछ । सुनको पिँजडामै राखेपनि खुशी हुँदो रहेनछ मन । दिनभरि जति टाढा डुलेपनि साँझमा गुँड खोज्दै चराहरु फर्किए जस्तो हुँदो रहेछ हाम्रो मन पनि । आखिरीमा घरको याद आइहाल्ने, गाउँको माया लागिहाल्ने । अनि मिल्ने भएपनि अहिल्यै भुर्रर उडेर जान्थेँ भनेजस्तो लागिरहने ।

भन्नेहरु त भन्लान्, गाउँको माया मारेर विदेश भासियो अनि अहिले चाहीँ खुबै गाउँको माया लागेजस्तो गरि सोधीखोजी गरिरहेको छ भनेर । तर एउटा कुरा आमा, मैले यसो भन्नुहुन्छ की हुँदैन त्यो त थाहा छैन तर विदेशीएको मान्छेलाई गाउँको मायाले जति पिरोल्छ त्यति गाउँमै बस्नेहरुलाई चाहीँ पिरोल्दैन होला सायद । 

उनीहरुले गाउँको माया, देशको माया भनेको के हो भन्ने पनि घोरिएर सोँच्न भ्याएका हुँदैनन् जस्तो लाग्छ मलाई छ । तर जब विदेश जाने निक्र्यौल गरेको एउटा मान्छे लाईनमा उभिएर बडो प्रयासले पासपोर्ट हातमा पार्छ, त्यतिबेला पहिलो पटक चसक्क चस्किँदोरहेछ मन, ढिलो चाँडो म मेरो ठाउँबाट टाढा जाँदैछु भन्ने सोँचेर । 

पासपोर्टमा भिस्सा लागेपछि विदेश जान भनेर सबैसँग बिदावारी भएर, रोइरहेका आफन्तहरुलाई नरुनुभन्दै तर आफु चाहीँ रुँदै एकाविहानै घरबाट निस्किँदा दोश्रोपटक कटक्क कुँडिदोरहेछ मन, यत्ति माया गर्ने आफन्तहरुबाट टाढिएर कहाँ कहाँको बिरानो भूमिमा जान नपरेको भएपनि हुन्थ्यो भन्ने सोँचेर । 

अनि जब सिरिङ्ग हुने गरि भुइँ छोड्दै आफुलाई बोकेको हवाईजहाज त्रिभुवन विमानस्थलबाट माथितिर नेपालकै भूमिमाथी उडिरहेको हुन्छ, त्यतिबेला तेश्रोपटक नमज्जाले भक्कानिँदो रहेछ मन, अब कहिले फर्केर आउनेहोला भन्ने सोँच्दै । त्यसपछिका दिनहरुमा चाहीँ हरेक क्षण, हरेक पल त्यही गाउँ सम्झिँरहँदो रहेछ मन,  यतिबेला गाउँमा के भइरहेको होला भनेर । को के गरिहेका होलान् भनेर । यसरी पनि बढिरहँदो रहेछ गाउँघरको माया ।

विदेशमा बस्नेहरुको लागि त चाडबाडहरु पनि रुवाउनको लागि मात्रै आउँछन् । गाउँमा यतिबेला बुवा—आमाहरु, साथीभाईहरु के पो गर्दै होलान् भन्ने सोँच्दै बस्यो, थाहै नपाईकन् आँखामा आँशु टुप्लुक्क आइसक्दो रहेछ । यहाँ त प्रत्येक सासमा विदेश बिझाउँछ आमा, प्रत्येक धडकनमा गाउँको याद बल्झिन्छ ।

गाउँमा बाढी पहिरो जान्छ, मन दुख्छ परदेशीको ।
सँधै हाँस्ने ओँठहरुमा खुशी लुक्छ परदेशीको । ।
जब कोही विदेशीले तेरो देश गरीब भन्छ
बोल्न केही नसकेर शीर झुक्छ परदेशीको । । ।

(((((((((((उडिरहने चरिलाई हेर्छु, घरको समाचार पर्खिरहन्छु((((((((((

वहकिने मन (२०७० श्रावण १४ )

सपनाहरु धाइरहन्छन् ।
खबर उनको बताइरहन्छन् । ।
साथ छुटेको वर्षौँ भएछ
यादहरु अझै आईरहन्छन् ।

(((((((((((((((हाँसेर दुई पल बाँच्न पाए हुन्थ्यो, शिव परियार))))))))))))))))))

मान्छे सपना देखेर कहिल्यै अघाउँदो रहेनछ, कहिल्यै थाक्दो रहेनछ पनि । बरु हरेक नयाँ दिनमा एउटा पुरानो सपनाको पर्दा उघारेर घोत्लिँदो रहेछ एकैछिन । वर्तमानको बर्कोले छोपेर राखेको विगतको अनुभुतिहरुसँग लुकामारी खेल्दै रमाउँदो रहेछ मान्छे । अनि फेरी केही रहरहरु आविष्कार गर्न पुग्दो रहेछ, आफुभित्रै । 

कुनैदिन हाँसोहरुको, खुशीहरुको भारी बोकेर दुगुर्ने बानी परेको मान्छे कुनैदिन एक मुट्ठी खुशीहरुको लागि पनि मरिमेट्दो रहेछ । एक घुट्को हाँसोहरुको लागि पनि लगातार पैँठेजोरी खेलिरहँदो रहेछ, समयका प्रहारहरुसँग । फेरीपनि समय त्यति कमजोर कहाँ हुँदोरहेछ र ।   

खुशीहरु बिजुली चम्किएसरि एकपटक झिलिक्क गर्छन् अनि फेरी हराउँछन् कताकता । म त्यो उज्यालो खोज्ने आँट गर्न पनि सक्दिनँ बरु त्यतिबेलाको गाडाङगुडुङबाट भयभित भएर अर्कोपटक त्यो खुशी नदोहोरियोस् भन्ने कामना गरिरहन्छु । 

कारण, त्यो उज्यालोको एक चिम्टी खुशीले मेरो मनमा गाडाङगुडुङको भयानक धर्साहरु कोरेर जान्छन्, जसलाई काखी च्यापेर रमाउन सक्दिनँ म ।

धेरैपटक सयमसँग जुधेको अनुभव छ मसँग । हरेक पटक मैले समयलाई छिर्किनी हानेर लडाउन खोजेँ, बाकटे हानेर पछार्न खोजेँ तर उल्टै उसैले मलाई गलहत्याएर गयो, घचेटेर गयो । म बबुरो के नै पो गर्न सक्थेँ र । निर्लज्ज भएर उठेँ अनि टक्टक्याएँ जीउको धुलो, फुङ्ग भएर उड्यो त्यो, अनि हावाको झोकासँगै बतासिएर हरायो एकैछिनमा । 

म पहिलेजस्तै सकुशल देखिएँ, तर बाहिरबाट मात्रै । भित्र त निक्कै नै दख्खल परेको थियो मलाई । किनकी भकुर्नुसम्म भकुरेको थियो, त्यो बलिष्ट समयले । यति नै बेला प्रकट पंगेनी शिवको गजलको एक शेर सम्झिएँ मैले

हेरिराख समयलाई मैले किन्छु एकदिन ।
जे छिनेथ्यो त्यस्ले मेरो त्यही छिन्छु एकदिन । ।

तिम्रा यादहरु हर रात विथोल्न आउँछन् मलाई, चिथोर्न आउँछन् अनि चिमोट्न आउँछन् । म रहरले हो या वाध्यताले ती नै यादहरुसँग लुटपुटिँदै तिमीलाई भुल्ने चेष्टा गर्छु, हिमालमा बसेर तातोको अनुभव गर्न तम्सिए जस्तो । र त मेरा चेष्टाहरु फिक्का भइदिन्छन् । 

अनि म एकपटक फेरी पराजीत हुन्छु, तिम्रा यादहरुसँग । यो पराजय स्वीकार्न त्यति मुस्किल पर्दैन मलाई, जति तिमीले बाटो बदल्दा मुस्किल परेको थियो । म त हार्ने बानी परेको मान्छे । कहिले तिम्रो खुशीको लागि हारेँ, कहिले आफ्नो इच्छाको लागि हारेँ । कहिले नजानेर हारेँ अनि कहिले जानीजानी हारेँ । फगत एकतमासले हारिरहेँ...हारिरहेँ । 

मलाई लाग्थ्यो एकदिन मेरा हारहरुको समीक्षा हुनेछ । मलाई चिन्नेहरुले, मलाई जान्नेहरुले...मलाई हराइएकोमा, मैले हारेकोमा दुख मनाउ गर्नेछन् । एकथान सहानुभुति दर्शाउनेछन् । तर मेरो सपनाको त्यो दिन, अहँ...अझै आएन ।

मन कहिलेकाहीँ चैते हुरी झैँ बेग हानेर उठ्छ । आफैभित्रको उकुसमुकसता छरपस्ट बनाउँछ अनि निक्कै अघि छुटेको एउटा विगत सम्झिएर खुब्बै दुखेसो गर्छ । म जति सम्झाउन खोजुँ यो मनलाई, अहँ फिटिक्कै मान्दैन...मान्दै मान्दैन । म बगेर गइसकेको खोलो कहाँ फेरी फर्किन्छ र भन्छु । 

उ, त्यो पानी बाफ बनेर माथी आकाशमा उड्छ, बादलको ढिक्का बनेर पहाडमा ठोक्किन्छ र फेरी पानी नै बनेर दर्किन्छ भन्दै छुट्टिएको मनको मान्छे फेरी फर्केर आउने आशाहरु जीवितै राख्छ । म समय घर्किसकेको अवगत गराउँदै, आत्मसमर्पणकारी तमसुकमा उसलाई ल्याप्चे लगाउन अह्राउँछु । तर उ मनोगत चिन्तनहरु अघि सार्दै मनको नाता सदैव जीवित रहने दलिल पेश गरिरहन्छ । 

यसरी मन र मस्तिष्कबीचको तर्क वितर्कसँगै अघि बढ्दैछ जीन्दगी । अघि बढ्दैछ भन्नु भन्दा पनि चल्दैछ भनौँ क्यारे, किनकी अघि बढेको भए त कतै न कतै त पुगिहाल्थ्यो नि, घडीको पेण्डुलम जस्तो एकै ठाउँमा कहाँ बसिरहन्थ्यो होला र । त्यसैले जीन्दगी चल्दैछ मात्रै भनौँ की जस्तो लाग्छ ।  

बाँच्नैपर्ने एउटा जीन्दगी छ ।
जहाँ हाँसोहरु नै बन्धकी छ । ।
नजिक आएर नियाल्नु मलाई
आँखामा कर्णाली गण्डकी छ । । ।

(((((((((((((((((((तोड्दैमा नाता कहाँ तोडिन्छ र)))))))))))))))))))))

हो..मिल्ने भए त तोडिएको नाता एकफेर गाँस्न पाए पनि हुन्थ्यो । उध्रिएको ठाउँहरुमा सिउन पाए पनि हुन्थ्यो । अनि भत्किएका भित्ताहरुमा लिपपोत गर्न पाए पनि हुन्थ्यो । समग्रमा केही भुलहरु सुधार गर्न पाए हुन्थ्यो, केही सत्यहरु उदाङ्गो बनाएर प्रष्ट्याउन पाए हुन्थ्यो । 

आखिर त्रुटी कहीँ न कहीँ, कसै न कसैबाट भएकै हो । दोषी तिमी पनि छौ र म पनि । हामी दुवैबाट केही न केही भुलहरु भएका छन् । तर बिडम्बना हामीले आफ्ना गल्तीहरु स्वीकार्ने तत्परता देखाएनौँ । 

आफु निश्कलंक बन्ने प्रयत्न मात्रै ग¥यौँ र दोष जति अर्कोको थाप्लोमा थोपर्ने अहमता मात्रै ग¥यौँ । हुनसक्छ, त्यति नै बेला हामीले सबैभन्दा ठुलो गल्ती फेरी ग¥यौँ, आफ्नो अहमताहरुको संरक्षण गरेर, आफ्ना घमण्डहरुको जगेर्ना गरेर । जसको परिणाम आज भोग्दैछु म, सायद तिमी पनि । 

केही चोटहरु छन् नदेखिने गरि गढेका । मनभित्र लपक्क टाँसिएर बसेका । बेलाबखत ती नै चोटहरु व्यक्तिगत होडबाजीमा बल्झिन्छन्, असाध्यै दुख्ने गरि चरक् चरक् चर्किन्छन् । म छट्पटिन्छु, आलसतालस हुन्छु । 

पिलो जस्तो निचोरेर फ्याँक्न पनि नमिल्ने, मुखले फु...फु...गर्दै सुस्तरी सुम्सुम्याउन पनि नसकिने, साँच्चै अजीव छ मनभित्रको चोट, अजीव छ । मेरो एक मनले सोँच्छ, चोट पाउनेले जसरी फत्रयाक् फत्रयाक् हुँदै छटपटाएर जीन्दगी बडो पिडापूर्ण तवरले बाँचेको हुन्छ, त्यसको हेक्का हुन्छ होला त चोट दिएर जानेलाई । 

के कुनैदिन उसलाई आफ्नो पुरानो हर्कतले पोल्छ होला त ? साँच्चै मैले गलत गरेँ भन्ने महसुस हुन्छ होला त उसलाई ? के खाएर हुन्थ्यो । यदि हुँदो हो त प्रायश्चितकै लागि भएपनि एकफेर सहानुभुतिका शब्दहरु त खर्चिन्थ्यो होला नी उसले । 

फेरी अर्को मनले सोँच्छ, हरेक मान्छे आफुलाई दूधै दूधले नुहाएको पवित्र ठानि टोपल्छ । गल्ती स्वीकार्ने बानी हुँदैन मान्छेको । बरु कसैगरि पनि सही साबित गराउन लागिपर्छ । सायद त्यसैले पनि आफ्नो नजरको निर्दोष भइरहन्छ मान्छे । अरुको नजरको के मतलब उसलाई ।

तिमीसँग अलग्गिएपछि मलाई सानो परिधि मनपर्न थाल्यो । साँघुरो घेराभित्र बाँच्न मनपर्न थाल्यो मलाई । जहाँ तिम्रा यादहरु होउन्, अनि मेरा आँशुहरु होउन् । यादहरु पठाउने तिमी अन्तै भएपनि, आँशुहरु रोइदिने म अन्तै भएपनि एउटा चुँडिएको सम्बन्धको भुल्नै नसकिने छापहरुको साहारामा अर्को मक्किएको जीन्दगी बाँचिरहेका छौँ हामी । 

हो, मक्किएको जीन्दगी । कहिले ध्वस्त हुने हो केही ठेगान नै छैन । तिमी स्वीकार या नस्वीकार, हामी दुबैको जीन्दगी निक्कै नै धरापमा चलिरहेछ । थाहा छैन कुनदिन हामीबीचको एउटा सत्य उदाङ्गिनेछ र भताभुङ्ग बनाउनेछ हुँदाखाँदाको जीन्दगी । 

हामीले बडो जतनसँग लुकाएर राखेको हाम्रो सम्बन्धको गहिराई सतहमा आएर प्रष्टिएको दिन पक्कै पनि तिम्रो जीवनमा भुइँचालो आउनेछ । डगमगाउनेछ तिम्रो सँसार र सँगै मेरो पनि । आखिर खास्टोले ढाकेर बिरालो कहाँ लुक्छ र म्याउँ गरिहाल्छ नि ।

म तिमीलाई भेट्न लम्किरहेछु ।
थाहा छैन, बिलाएँ की चम्किरहेछु । ।
यादहरु मेटिएर कहाँ मेटिन्छन् र
हिजो जस्तै आज पनि सम्झिरहेछु । ।

(((((((((((((((((((((मेट्दैमा याद कहाँ मेटिन्छ र)))))))))))))))))

वहकिने मन (२०७० श्रावण २१)

केही फोटाहरु छन् जलाउनुपर्ने ।
आँशु छन् सिरानी गलाउनुपर्ने । ।
यादहरु आउँछन् र जान्छन् पनि
गुजारा त्यसैले चलाउनुपर्ने । । ।

((((((((((((((भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, कर्णदास)))))))))))))))

कहिलेकाहीँ यस्तै तर्कनाहरु पनि आउँछन् मनमा । कि, भेटिएर छुट्नुभन्दा त नभेटिएकै भए हुन्थ्यो । मान्छेको एउटा स्वभाव हुँदो रहेछ । बरु त्यो कुरा नपाएकोमा त्यति चिन्ता हुँदैन, जति पाएर पनि गुमाउनुपरेकोमा हुन्छ । कुनै दम्पतीको सन्तान भएन भने जीन्दगीभर एकखाले चिन्ता त हुन्छ नै, तर यदि जन्मिएर पनि केही वर्षपछि मृत्यु भयो भने ती बाउ आमा पिडा सहन नसकेर मर्न पनि सक्छन् । 

एउटा गरीब मान्छे हरेक दिन छाक बेसाएर पनि बाँचिरहेको हामीले देखिरहेका छौँ तर क्यासिनोमा भएभरको सम्पत्ति हारेपछि त्यो सहन नसकेर आत्महत्या गर्ने धेरै धनी मान्छेहरुको समाचार सुनेका छौँ हामीले । अनि अर्को कुरा हामीले यस्ता धेरै पुरुषहरु देखेका छौँ जसले विवाह नै नगरिकन जीवन काटेका छन् । 

तर एकपटक विवाह गरेर छुट्टिएपछि वा श्रीमतीको मृत्यु भएपछि फेरी अर्को विवाह नगरिकन बस्ने पुरुष भने निक्कै कम देखेका छौँ । हो मान्छेको स्वभाव नै यस्तै छ, एक्लै हिँडिरहेको मान्छेलाई बरु जीन्दगी सहज लागिरहेको हुन्छ । 

तर जब यात्रामा साथ दिने कोही भेटिन्छन् अनि त बानी पर्छ सँगै यात्रा गर्ने । यदि त्यो साथ छुट्यो भने एक्लै यात्रा गर्न सक्ने अवस्था नै नरहन पनि सक्छ । यस्तैखाले अनुभवहरु बटुल्दै छु म पनि ।

आज त सोमबार । विहानै मन्दिर जानेहरुको ताँती मेरो टोलमा पनि थियो । सोँचेँ, सायद तिमी पनि यतिबेला कुनै मन्दिरको अघिल्तिर शान्तसँग दुवै आँखा चिम्लिएर अनि दुवै हात जोडेर उभिएकी हौली । अघिल्ला वर्षका साउनका सोमबारहरु पनि यस्तै सम्झिन्थेँ म । 

फरक यत्ति की, त्यतिबेला सम्झिँदा कुर्ता सुरुवाल लगाएर उभिएकी तिम्रो आकृति आँखामा आउँग्थ्यो, अहिले सम्झिँदा रातो सारी लगाएर उभिएकी तिम्रो तस्बीर आँखामा आउँछ । अनि सिउँदोमा सिन्दुर र गल्हामा मंगल सुत्र पनि हुन्छ तिमीसँग । सायद यसैलाई भनिन्छ क्यारे, समयले कोल्टे फेरेको भनेर ।  

मलाई थाहा छ, समय सँधै एकनास रहँदैन । हिजोकी तिमी र आजकी तिमीमा परिवर्तन हजार भए होलान् । तर पनि, मेरो मन भन्छ, की आजपनि उसैगरि हातभरि हरिया चुरा लगायौ होली, हत्केला भरि मेहेन्दीले रङ्गायौ होली अनि सखारै महादेव थानमा पुगेर केही माग्यौ होली । 

वर्षौँ अघि साउनको एउटा सोमबार मन्दिरबाट फर्किँदै गरेकी तिमीलाई मैले ढिपी गरेथेँ, रामभक्त जोजिजुले गाएको गीत गुन्गुनाउँदै....

“के बर मागी फक्र्यौ भन, तिम्ले पुज्ने देवता सित ।
दुनियाँलाई नभने नि भन्न हुन्छ एउटा सित, भन्न हुन्छ एउटा सित ।” भन्दै ।

त्यतिबेला कुनैदिन भन्ने वाचा गरेकी थियौ तिमीले । तर त्यसपछि न मैले नै सोध्ने अवसर पाएँ, न तिमीले नै जानेर वाचा पूरा गर्यौ । फेरी पनि तिमीले पनि अरुहरुले जस्तै सोमबारे ब्रतको दिन तिम्रो भगवानसँग योग्य पती पाउँ भनी वर मागेकी थियौ की भन्ने लख काटेको थिएँ मैले । 

अनि मनमनै ढुक्क भने थिएँ, तिमीले मागेकी योग्य बरको मापदण्डहरु म मा निहित छन् भनेर । तर खै कुन्नी तिम्रो भगवानले मलाई योग्यताको प्रमाणपत्र दिने झन्झट व्यहोर्नुभन्दा बरु योग्य व्यक्तिकै जीवन रेखामा तिमीलाई उभ्याइदिनु सहज ठानेछन् क्यारे । 

त्यसैले पनि समयको छालद्वारा पाखैमा हुत्याइएँ म । त्यतिबेला सोचेथेँ, “सोमबारे ब्रत बस्नेतहरुले योग्य बर पाउँ भनेर माग्नुको सट्टा मलाई माया गर्ने अहिलेकै मान्छेलाई योग्य बनाइदिनु भनेर किन माग्दैनन् होला ???” यही दिग्भ्रमित मनले त्यतिबेला तिमीलाई स्वार्थी मान्छेको पगरी गुथाइदिएथेँ, मलाई माफ गर्नु ।

मलाई कसैले भगवान भन्थ्यो ।
अँगालो स्वर्गै समान भन्थ्यो । ।
जे थियो हिजो, त्यो पो त जीन्दगी
कसैले त मेरो जवान भन्थ्यो । । ।

(((((((कति मिठा कति नमिठा बातभित्र भुल्यौँ हामी)))))))))))))))))))))

सपनाहरु भत्किन्छन् पनि, भताभुङ्ग हुन्छन् कहिलेकाहीँ । अनि हामी भने त्यही भत्किएको सपना पनि फेरी बारबेर गरेर जीन्दगी गुजार्न खोज्छौँ । टालटुल गरेर दिनहरु तन्काउन खोज्छौँ, अनि छोपछाप गरेर वास्तविकता लुकाउन खोज्छौँ । 

सबै चकनाचुर भइसकेर पनि केही नभएजस्तो । केही पाउनकै लागि जन्मिए जस्तो अनि कहीँ पुग्नकै लागि दौडिएजस्तो । कहिलेकाहीँ त लाग्छ, फगत बाँच्नकै लागि बाँचिरहेका त छैनौँ हामी ?

विहान उडेर गएको एउटा चरा रमान घुमेर पनि बेलुकी बास बस्न पुरानै गुँडमा आईपुग्छ । तर मान्छेको मन भने एकपटक गएपछि फर्किएर आउँदैन, बरु त्यतै बास मागेर सुस्ताइदिन्छ । भोलपल्टदेखी खाँबो गाड्न त्यहीँ खाल्डो खन्न थाल्छ । तरपनि पुरानो ठाउँ सम्झिने मन गर्दैन । 

बडो अचम्म छ मान्छेको मन । पत्ता लगाउनेहरुले आफैलाई भुलेर बाहिर बाहिर खोजी हिँडेर मात्रै हो, नत्र चाइनाको ग्रेट वाल, भारतको ताजमहल, मिश्रको सभ्यता आदिलाई सार्तौँ आश्चर्यभित्र सुचिकृत गर्नेहरुले पहिलो आश्चर्य चाहीँ मान्छेको मन हो भनेर घोषणा गर्ने थिए ।

यसरी झमझम् झरी परिरहँदा म आज पनि उसैगरि तिमीलाई सम्झिरहेछु, जसरी यसघिका वर्षेझरिहरुमा सम्झिन्थेँ । मज्जाले वर्षाहुँदा मन भुरुङ्ग बनाउने किसान जस्तै म पनि एकखाले किसान नै थिएँ, आफ्नोपनको गह्राहरुमा भावनाहरुको खेती गरेर आत्मीयताको बाली भित्र्याउँथेँ । तर एक साल खडेरी पनि यसरी पर्यो की, माया बगि आउने कुलेसोहरु पटपटी फुटे, अनाजहरु यसै डढेर गए । 

अनि त ओत लाग्ने छानो र पेटभर्ने मानोको समस्याले अचेल मालिककोमा हलि बसेको छु । काम त अहिले पनि पहिले जस्तै गर्छु, फरक यत्ति छ कि अचेल अरुको लागि गर्छु । अरुको लागि गर्ने मान्छे किसान हुँदोरहेनछ, हलि हुँदोरहेछ, मात्र हलि । पहिले वहकिने गर्थे, अहिले वहकाउने गर्छु । यत्ति हो फरक ।

अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई मेरो छोरा यस्तो होस् भन्दै लेखेको पत्रमा यसो पनि भनेका थिए, दिल खोलेर हाँस्दाहाँस्दै गम्भीर हुनु कति जरुरी छ भनेर सिकाइदिनु उसलाई । 

अनि रोदनमा पनि हाँसो हुन्छ, रुन मन लाग्दा कहिल्यै पनि नलजाउनु, न हिच्किचाउनु भनेर सिकाइदिनु पनि भनेका थिए । हुन त यो पत्र लिंकनले आफ्नो छोरालाई यस्तो सिकाउनु भनेर प्रधानाध्यापकलाई पठाएका थिए क्यारे । तर जब स्कुले जीवनमा मैले पनि पढेँ अनि त आँशुभित्र पनि कसरी हाँसो हुँदो रहेछ भनेर जान्न मन लागेको थियो । 

सरलाई सोधेको पनि थिएँ तर उहाँले गृहकार्य नगरेर स्कुल आउँदा पिटाइ खाइयो भने त्यतिबेला त आँशु आउँछ तर भोलीदेखी गृहकार्य गर्ने बानी बस्छ र भोली पास भएर अर्को कक्षामा जाँदा हाँस्न पाइन्छ, आँशुभित्र हाँसो हुन्छ भनेको पनि त्यही हो भन्नुभएथ्यो । 

नढाँटेर भनौँ भने फिटिक्कै बुझिनँ मैले त्यतिबेला यो कुरा । सोचेथेँ, त्यो कसरी आँशुभित्र हाँसो भयो त ? बरु आँशुभन्दा धेरै टाढा पो हाँसो भयो नि । आँशु चाहीँ आजै अनि हाँसो चाहीँ रिजल्टको दिन मात्रै भन्ने सोँचेर चुप लागेथेँ त्यतिबेला । 

तर खुशीको कुरा भन्ने की दुखको, त्यतिबेला सरले सिकाउन नसक्नुभएको एउटा पाठ वर्षौँपछि निक्कै नै प्रष्टसँग सिकायौ तिमीले, प्रष्टैसँग बुझेँ मैले पनि । मलाई छोडेर जाने मान्छे, हो, तिमीले फलानोसँग विहे गर्दैछु म भनेर फैसला सुनाउँदा हो, म रोएको थिएँ, आँशुहरु असरल्ल पोखिएका थिए आँखाको झोलाबाट । 

तर भिइइइइत्रत्रत्रत्रत्रत्रत्रत्र भने कतै खुशीको लप्का पनि टाँसिएर बसेको थियो । कारण, त्यो निर्णयमा तिमी खुशी थियौ अनि तिम्रो खुशीमा म । हो त्यही दिन मगर्नी बज्यैको भट्टीमा राती अबेरसम्म बस्दा सिकेको थिएँ मैले, आँशुमा पनि हाँसो हुन्छ भन्ने कुरा ।

कथा हुन सक्दैन, कहानी हुन सक्दैन ।
कथा कहानी बिनाको जीन्दगानी हुन सक्दैन । ।
अब दुनियाँले यो बुझ्नु जरुरी छ
निधार ठुलो हुँदैमा भाग्यमानी हुन सक्दैन । । ।

((((((((((घाम डुब्दा छायाँ पनि आफ्नै साथमा हुन्न रै छ । )))))))))))))))))))))

वहकिने मन(२०७० श्रावण २८)

घर शुन्य भयो, गाउँ शाखा शुन्य भयो ।
विदाईमा रोएको त्यो आँखा शुन्य भयो । ।
तिमीले हवाईजहाज चढेर गएदेखी
यता गाउँमा हलो चल्ने पाखा शुन्य भयो । । ।

(((((((((((((तिम्रो खरको छानो चुहेर, स्वर : जीवन शर्मा)))))))))))))))))))))))))))))))))

ए...विदेशिएको मान्छे कस्तो छ तिमीलाई ???? अचेल त खबर पनि आउँदैन तिम्रो । अस्ति चिउरी बोटे काकाको छोरा आ थे क्यारे, खत पठायौ की भन्ने आशाले तिम्री आमैले सोध्न पठाकी थिन् मलाई । खत त पठाएनछौ तर त्यति सञ्चो छैन रे तिम्लाई..दुब्लाका छौ रे भनेर सुनाउँदै थे । त्यो खबर तिम्री आमैलाई चाहीँ सुनाइनँ मैले, झन पिरलोमा पर्लिन की भन्ने डर लाग्यो ।

माया मार्यौ क्यारे मुग्लानी....अचेल त सपनामा पनि आउँदैनौ तिमी । हाम्रो घरको रेडियोले तिम्रो खबर सुनाउँदैन, चुनाव हुन्छ र हुँदैन भन्दै ठुल्ठुला मान्छेहरु बाझेको कुरा मात्रै सुनाउँछ । अनि अचेल त झन को को ठुल्ठुला मान्छेहरु खै क—कस्को पार्टीमा गए रे भन्ने के के जाती कुरा मात्रै सुनाउँछ । 

कुनैदिन त तिम्रो खबर पनि सुनाउला की भन्दै रेडियोमा कान थापिरहेका हुन्छौँ हामी । बडे बडेमाको लडाइँ पर्छ रे विदेशमा त, कहिलेकाहीँ सुनामी हो की, के थरी आएर सब्बै सखाप पार्छ रे । हाम्रो तिर त भुईँचालो आउँदा पनि एकैछिन मात्रै भुईँ हल्लाउँछ, केही अनिष्ट नभएर हो की किन हो, रमाइलै लाग्छ । 

तर विदेशमा त कति हो कति मान्छेको, परानै लाने गरि आउँछ रे भुइँचालो पनि । अनि कहिले काहीँ त आगोको ज्वाला नै निस्किन्छ र जमिनबाट । यी सब्बै कुराहरु सम्झिँदा त, हाम्रै गाउँ निको लाग्छ मलाई त । अझ अस्ति मलेसियामा त्यहीँ घर भएका केटाहरुसँग यहाँबाट गएका नेपाली दाजुभाईहरुको निक्कै ठुलो झगडा परेको कुरा सुनेदेखी त तिम्री आमैले राम्ररी भात खान पनि छोडेकी छिन् । 

“मेरो बाबु झोडी छ, कसैले हेपेको सहँदैन, न त्यसको पनि यस्तै झगडा पो पर्छ की, मान्छे फुच्चे छ, न पो कसैले पाक्क पुक्क पारेर झाडीमा फ्याल्दिन्छन् की” भनेर खुब्बै रुँदै थिइन म सँग । आमाको मन न हो साथी, परदेशको ठाउँ, नचिनेका मान्छे । के भो होला, कसो भो होला, चिन्ता त लाग्छ नै ।

यो पाली वर्खा पनि पोहोर, परार सालभन्दा बेसी नै भयो यतातिर । दार्चुलाको सदरमुकाममा बाढी पसेको खबर त तिमीले पनि सुन्यौ होला । हाम्रै पखेराहरुमा पनि पहिरो खस्यो यसपाली । ओखर साइँलाको एक हल गोरुलाई गोठै सहित लग्यो पहिरोले । 

डाँडो मुन्तिरको तिम्रो घर जेनतेन अहिलेसम्म उसैगरि उभिएर बसेको छ, भलै खरको छानो ठाउँठाउँमा चुहिएर पिँढिमा आहाल बनेको छ, आँगन भत्केर बिजोग छ । फेरीपनि बा ले दुखजेलो जोडेको खाँबोहरु भने अझै डग्मगाएका छैनन् । 

अस्ति शनिबार मकै पिन्न घट्ट गएर फर्किँदा तिम्रो घरमा पसेथेँ । आमैले निक्कै गुनासो गर्दैथिन् । तिम्रो न्यास्रो लाग्दा विहेमा माईतीले पठाइदिएको पुरानो ट्यांकाबाट तिम्रो तस्बीर निकालेर अघाउञ्जेल हेर्दा रैछिन् । “अहिले त यो काले पनि कत्रो भइसक्यो होला जेठा” भन्दै थे मलाई । यसपालीको हिउँद नकटाउनु भनेर काजीले ऋण तिर्न ताकेता दिइराका छन् रे । नत्र टारीको गैरी खेत हडप्ने बताएको छ र उसले । 

“कालेको बा ले पसिना बगाएर जोडेको यै एउटा चिनो पनि साहुको भागमा पर्ने भो जेठा” भनेर बिलानो गर्दैथिन् आमैले । तिमी त ठुलो सपना लिएर मुग्लानी बनेको मान्छे । पैसा कमाएर आउँछु भन्दै घर खेत साहुकोमा बन्धकी राखेर हिँडेको मान्छे । दिन दुई गुना, रात चौगुना साहुको ऋण आकासिएको छ । कसरी निखन्नौला र खै ।

मैले आमैलाई केही भनेर सम्झाउनै सकिन साथी । उन्ले “अब त घरले जा जा, बगरले आइजे आइजे भन्ने बेला भइगयो, त्यो कालेको अनुहारै नहेरी मर्छु की बाबु” भन्दा, भित्रैदेखी भक्कानिएर आएँ म । अनि तीन कुरुवा पिठो नाङ्गलोमा हालिदिएर मन अमिलो बनाउँदै घर फर्किएँ । 

आफु त अहिलेसम्म एक्लै बसेको मान्छे, सँधै आफैले ढिँडो ओडालेर खान्थेँ, तर त्यो दिन जाँगरै चलेन । आँखाभरि तिम्रो तस्बीर आइरह्यो अनि कानमा आमैले भनेका कुराहरु एकतमासले ठोक्किरहे रातभरि, “अब त घरले जा जा, बगरले आइजे आइजे भन्ने बेला भइगयो, त्यो कालेको अनुहारै नहेरी मर्छु की बाबु” ।

साथीसँगी कस्तो छैन खै, सँगत हेरी तर्किनु रे ।
अनेकथरि ख्वाउन खोजे, रिसाएर झर्किनु रे । ।
निखन्नु छ गैरी खेत, बा को चिनो यै हो भन्थिन्
न्यास्रिएछिन् बुढी आमै चाँडै घर फर्किनु रे ।

(((((((((((((((((भाको पेट साँझमा, पटुकी कस्दछिन् )))))))))))))))))))

घर फर्किने मन त तिमीलाई झन बढी होला । घामको एक टुक्रो उछिट्टिएर आङैमा आएर खसेजस्तो भत्भती पोल्ने त्यो मरुभुमिको तातोमा के रमाएको होला र मन । तिम्रो पनि रहर होलान् । केही पुराना तर अझै अधुरा सपनाहरु होलान् । अनि होलान, एैजन एैजनका वाध्यताहरु । 

सँगैका साथीभाईहरु कति कति कमाउने भएका छन् । कोही पढेर ठुला मान्छे भएका छन् । कोही व्यापार गरेर धनीमनी भएका छन् । सानो छँदा माथ्लाघरे लाहुरे बाजेले ‘ए तोरी लाहुरे हो’ भनेर बोलाउँथे हामीलाई, हामी त त्यो भन्दा ठुलो हुनै सकेनछौँ । 

यी सब्बै कुराहरुले तिमीलाई पनि त हरेक रात पिरोल्छ होला नी । हैन र ??? दिन, हप्ता र महिना गर्दै कति वर्षहरु बिति गए, भेट हुनेहरु पनि बिस्तार बिस्तार टाढिएर गए, जबर्जस्ती अडिएर बसेको पारिपट्टि डाँडोको खोरिया पनि यो वर्षको पहिरोमा सँगै गयो । तर तिम्रो हाम्रो दुःखका दिन भने कहिल्यै पनि गएन साथी । हाम्रो त कर्मै खोटो छ की जस्तो लाग्छ कहिलेकाहीँ त । 

भावीले छैठीमा भाग्य लेख्नै बिर्सिका थिए क्यारे हाम्रो त । नत्र सँधै एकनासको दुख त नहुनु पर्ने हो नि । कहिलेकाहीँ त आफ्नै जीन्दगी देखेर विरक्त लागेर आउँछ, अनि जङ्गलबीचको महादेव थानमा गएर एक्लै चिच्याउँछु, हे भगवान दुखीको घरमा मात्रै तेरो बास हुने भए कृपा गरि मलाई अझै दुख थपि दे भन्छु । मेरो पुकार सुने नि नसुनेझैँ गर्छ त्यो ढुङ्गाको भगवान ।

भगवानहरु पनि सालिक भएपछि ।
सालिकहरु नै फेरी मालिक भएपछि । ।
देवताहरु पनि जनमतसंग्रहबाट चुनिन्छन्
भक्तहरु विस्तारै बालिग भएपछि । । ।
धेरै अघि एकरात सपनामा देखेथेँ तिमीलाई ।

कस्तो छ त विदेश भनेर सोधेथेँ मैले ? तिमी भन्दैथ्यौ, विदेश त साह्रै गर्मी हुँदो रहेछ, यहाँको भाषा पनि नबुझिने ।

साथीभाई कस्ता छन् नी भनेर सोधेँ ? सबै म जस्तै छन्, हप्ताभरि ओभर टाइम समेत लिएर काम गर्ने, अनि कहिले शुक्रबार आउला र ज्यानलाई आराम दिउँला भनेर बस्ने । सबैको अनुहारमा एकैखाले चिन्ता देख्छु, साहुको रिन कसरी निखन्ने भन्ने, भन्यौ तिमीले ।

काम कत्तिको गाह्रो छ नी ? भनेर फेरी सोधेँ मैले, ख्याउटे परेको अनुहारमा फिस्स हाँसेझैँ गरि जवाफ फर्कायौ तिमीले, काम को के कुरा गर्नु साथी, विदेशको ठाउँ यस्तै त हो । मुदिरले कहिले काहीँ साहै्रै नै गर्छ, भनेर वाक्य टुङ्गयायौ तिमीले । तिम्रा ठेला उठेका हातहरु देखेपछि त्यो विषयलाई फेरी खोतल्ने चेष्टा गरिनँ मैले पनि । बरु गाउँको याद कत्ति आउँछ नी भनेर अर्को जिज्ञासा राखेँ ।


अनि तिमी एकसुर ले बर्बराउन थाल्यौ,
“विदेशीएको मान्छेलाई गाउँको मायाले जति पिरोल्छ त्यति गाउँमै बस्नेहरुलाई चाहीँ पिरोल्दैन होला सायद । उनीहरुले गाउँको माया, देशको माया भनेको के हो भन्ने पनि घोरिएर सोँच्न भ्याएका हुँदैनन् जस्तो लाग्छ मलाई छ । तर जब विदेश जाने निक्र्यौल गरेको एउटा मान्छे लाईनमा उभिएर बडो प्रयासले पासपोर्ट हातमा पार्छ, त्यतिबेला पहिलो पटक चसक्क चस्किँदोरहेछ मन, ढिलो चाँडो म मेरो ठाउँबाट टाढा जाँदैछु भन्ने सोँचेर । 

पासपोर्टमा भिस्सा लागेपछि विदेश जान भनेर सबैसँग बिदावारी भएर, रोइरहेका आफन्तहरुलाई नरुनुभन्दै तर आफु चाहीँ रुँदै एकाविहानै घरबाट निस्किँदा दोश्रोपटक कटक्क कुँडिदोरहेछ मन, यत्ति माया गर्ने आफन्तहरुबाट टाढिएर कहाँ कहाँको बिरानो भूमिमा जान नपरेको भएपनि हुन्थ्यो भन्ने सोँचेर । 

अनि जब सिरिङ्ग हुने गरि भुइँ छोड्दै आफुलाई बोकेको हवाईजहाज त्रिभुवन विमानस्थलबाट माथितिर नेपालकै भूमिमाथी उडिरहेको हुन्छ, त्यतिबेला तेश्रोपटक नमज्जाले भक्कानिँदो रहेछ मन, अब कहिले फर्केर आउनेहोला भन्ने सोँच्दै । त्यसपछिका दिनहरुमा चाहीँ हरेक क्षण, हरेक पल त्यही गाउँ सम्झिँरहँदो रहेछ मन,  यतिबेला गाउँमा के भइरहेको होला भनेर । को के गरिहेका होलान् भनेर । यसरी पनि बढिरहँदो रहेछ गाउँघरको माया ।

विदेशमा बस्नेहरुको लागि त चाडबाडहरु पनि रुवाउनको लागि मात्रै आउँछन् । गाउँमा यतिबेला बुवा—आमाहरु, साथीभाईहरु के पो गर्दै होलान् भन्ने सोँच्दै बस्यो, थाहै नपाईकन् आँखामा आँशु टुप्लुक्क आइसक्दो रहेछ । यहाँ त प्रत्येक सासमा विदेश बिझाउँछ साथी, प्रत्येक धडकनमा गाउँको याद बल्झिन्छ ।” हो यसै भन्यौ त्यो सपनामा तिमीले मलाई । 

मन कुँडिएर आएथ्यो परदेशी साथी तिम्रा कुराहरु सुनेर । गाउँमा हुँदा भन्दा धेरै व्यवहारिक भएछौ । तिमीलाई गम्लङ्ग अँगालो हालेर अघाउञ्जेल रुन मन लागेको थियो तर तिमी भने केही बुज्रुक बनेर जीन्दगीमा दुख त जति पनि आईपर्छ नी, खल्लीबल्ली यार भन्दै मलाई पो सम्झाउन खोज्दैथ्यौ ।
त्यति नै बेला करेसामा आएर हाप्सिलो कराउनाले बिउँझिएँ म । तर त्यो सपना भने दोहोरिरह्यो मनभित्र, विपना जस्तै बनेर ।

न्यास्रो बोकेर बसेका छौँ, याद बोकेर बसेका छौँ ।
तिमी आएपछि रुन आँशु रोकेर बसेका छौँ । ।
हुन त त्यस्तो ठुलो के नै छर गाउँघरमा
हामी पनि त हरखबत जीन्दगी जोखेर बसेका छौँ । । ।

(((((((((((((महङ्गी चुलिएर आकाशै छोइसक्यो))))))))))))))


मुक्तक

मुटुभित्र राख्छु जसलाई उसैसँग टक्कर हुन्छ ।
मलाई मात्रै किन यस्तो जतासुकै ठक्कर हुन्छ । ।
जति पढ्न खोजेँ यसलाई, उति बुझ्न गाह्रो भयो
जीन्दगी यो के हो कुन्नि, सँधै घनचक्कर हुन्छ । । ।

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget