Tuesday, April 1, 2014

वहकिने मन (२०७० श्रावण ७)

बाढी पहिरो ल्याउने वर्षे झरि पो देख्छु ।
सपना पनि अचेल अनेकथरि पो देख्छु । ।
परदेशी भूमि, गाउँको यादले साह्रै नै सताउँछ
साथीभाई सँगै छिमेकी देख्छु, गाईवस्तु धरी पो देख्छु । । ।

((((((हर रात ऐठन हुन्छ, दिप श्रेष्ठ)))))))

परदेशी भूमि, बिरानो ठाउँ, यो टन्टलापुर घाममा पसिनाले निथ्रुक्क भिजेर म सोँचिरहेछु । यतिबेला त हाम्रो गाउँ पनि निथ्रुक्क भिजेको होला, वर्षे झरिले, हामी पसिनाले भिजेजस्तै । आमा...झरीेले बाटोभरि ग्याज ग्याजी हिलो बनायो होला है...चिप्लिएर हिँड्नै नसक्ने गरि । 

पिंढीका डिलपनि बाछिटाले भिजेर उप्केको होला, खरको छानो चुहिएर यसपाली पनि रातभर जाग्राम पो बस्नुप¥यो की । रोपाईँ त सकियो होला नी है, अनि अहिले त त्यो पाखो बारीमा पनि मकैका बोटहरु बढेर घर पछाडीको जङ्गल जस्तै बाक्लो भए होलान् । मकैका बोटहरु बढेर त्यहीँ परको शंकर दाईको घर पनि छेकिने भयो होला अहिले त । 

जङ्गलको बीचमा बस्ती बसेको जस्तो देखिएको होला हाम्रो गाउँ । म घरमा छँदै कान्छी दिदीले तपाईँलाई उपहार दिएको पोथीले घरै भरिने गरि कुखुरा बढाएका छन् रे भन्ने सुनेथेँ । अनि अस्ति मात्रै दुईटा त हाप्सिलोले लगेको पनि सुनाउँदैथ्यो दाईले । जङ्गल छेउको घर, झन त्यै माथी अहिले त मकैबारीले गर्दा कताबाट हाप्सिलो आयो भन्ने नै थाहा हुँदैन होला ।

गाउँ कस्तो भएको छ कुन्नी, खुब्बै याद आउँछ आमा । त्यो हामीले पौडी खेल्ने मरताल खोला पनि अहिले त उर्लेर बग्दै होला है । सब्बै सब्बै त सोधेर के साध्य लाग्थ्यो र, तैपनि गाउँमा के भइरहेको होला भन्ने कुरा चाहीँ मनमा खेलिरहँदो रहेछ, यो सात समुन्द्र पारीको बिरानो देशमा आइपुगेपछि ।

केही दिन भयो अचेल सपना पनि नराम्रो देख्न थालेको छु । गएराती पनि त्यस्तै देखेथेँ, म गाउँ आइपुगेको हुँदो रैछु, मनमा त्यो हाम्रै गाउँ हो भन्ने लागेपनि, त्यो गाउँ हाम्रो जस्तो चाहीँ नहुँदो रैछ । सुनसान हुँदो रैछ, उराठ हुँदो रैछ । 

मैले झिसमिसेमा भालेको पहिलो डाँकसँगै छोडेको गाउँ अर्कै भइसकेको हुँदो रहेछ । गाउँभन्दा पनि एकलास निर्जन ठाउँ पो हुँदो रहेछ त्यो त । हाम्रो घर पछाडीको जङ्गल पनि भत्किएको पो हुँदो रैछ । गाउँलेहरु पनि कतै नहुँदा रैछन् । झ्वाट्ट हेर्दा बस्ती नै मासिएको जस्तो देखिँँदो रहेछ त्यो ठाउँ । 

एकछिन त यसै टोलाउँदो रहेछु म । अनि एक्कासी एकजना बुढो मान्छे घाँसको भारी बोकेर कता हो कताबाट फुत्त मेरो अगाडी आईपुग्दो रहेछ । म उसैलाई सोध्दो रहेछु, यो गाउँका मान्छेहरु कता गए बा ? घरहरु पनि खासै देखिँदैनन् ? अनि त्यो बुढो मान्छे मतिर नफर्किकनै जवाफ फर्काउँदो रैछ, के भन्ने बाबु, दैव लागी गो नि, सखापै पार्यो नि । 

म झन् आत्तिन पुग्दो रहेछु, अनि हत्तारिएर सोध्दा रैछु, हैन के भयो र बा...के भन्नु भा तपाईँले ? त्यो बुढो मान्छे थप केही बोल्दो रहेनछ । मात्र अघिल्लो जवाफ फेरी दोहोर्याउँदो रहेछ एकपटक, दैव लागी गो नि, सखापै पार्यो नि । ती बुढो मान्छेले त्यही कुरो बारम्बार दोहोर्याइरहँदा म भने कता हो कता हराए झैँ हुन पुग्दो रहेछु ।

बाल्यकालका साथीहरुसँगै सबै आफन्तहरु, छिमेकीहरु, गाउँलेहरु एकैचोटी मेरो आँखा वरिपरि झल्याक झुलुक देखिन आउँदा रैछन्, ठम्याउनै नसकिने गरि । अनि फेरी कोही रोए जस्तो, कोही चिच्याए जस्तो गरि एकखाले कोलाहल मच्चाउँदै तत्कालै हराउँदा रहेछन्, कताकता ।

म निकै ठुलो प्रलयको अड्कल गरेर टोलो हुँदो रै छु, केही बोल्न खोजेर पनि बोल्नै सक्दिन रहेछु त्यतिबेला । बलजफती चिच्याउँदो रै छु म । अनि त्यति नै बेला ब्यूँझिएको मलाई यहाँ सँगै सुतेको साथीले झक्झक्याइरहेको पो हुँदो रै छ, के भयो तँलाई भन्दै ।

दार्चुलामा बाढी पस्यो रे भन्ने सुनेँ, धनगढीको केही गाउँ डुबानमा पर्यो रे भन्ने पनि थाहा पाएँ । त्यसपछि त झनै गाउँको याद लगातार आइरहेको छ आमा ।

ज्यान मात्र हुन्छ आमा, मन हुन्न परदेशमा ।
पसिनाको खोलो हुन्छ, धन हुन्न परदेशमा । ।
हुरी चल्दा, पानी पर्दा गाउँको यादले सताउँछ
भिस्सा हुन्जेल काम हुन्छ, जीवन हुन्न परदेशमा । । ।


(((((((डाँडापारिको घामलाई हेर्छु, आमा र बाबा सम्झिरहन्छु(((((((((((

हो यस्तै चिन्ता लागिरहन्छ अचेल । बाढी आएर खेतै बग्यो की, न पहिरो आएर गाउँ नै भासियो की । यस्तै यस्तै तर्कनाहरु खेलिरहन्छन् मनभरि । जति सम्झाउन खोजेपनि फिटिक्कै मान्दैन, यो मन ।

आज त साउनको पहिलो सोमबार हो क्यारे, गाउँका साइँली, माइली र चमेलीहरु पनि ब्रत बसे होलान् है । सबै दिदी वहिनीको हातमा हरियो चुरा छर्लङ छर्लङ बजिरहेको होला । हत्केलामा मेहेन्दीले अनेकथरि आकृति कोरिएका होलान् । अनि कति साथीहरु त बोलबम पनि गए होलान् है । 

कति चाहीँ रमजानमा व्यस्त भएका होलान् । उताभन्दा पनि यता पो छ त रमजानको चहल पहल त । एकबारको जुनीमा भ्याएसम्म परदेश चाहीँ पुग्नु नै पर्दो रहेछ आमा । धेरै कुरा जानिँदो रहेछ । गाउँमै भएको भए यो वर्षामा सायद म पनि साथीहरु भेला गरेर गोठमा तास खेलेर दिन बिताइरहेको हुन्थेँ होला । 

तर यहाँ आएपछि बुझेको छु, श्रम भनेको के रैछ भन्ने । हामीले अल्छी गरेर दिन बिताउँदा त्यसले देशको विकासमा कत्ति ठुलो नोक्सानी पु¥याएको हुँदो रै छ भन्ने पनि जानियो यहाँ आएर । धरै नयाँ नयाँ खानेकुराहरु देखियो, कति त चाखियो पनि अनि कति चाहीँ टाढैबाट हेरेर मन बुझाइयो । 

तर जे जस्तो भएपनि बनको चरी बनमै रमाउँदो रैछ । सुनको पिँजडामै राखेपनि खुशी हुँदो रहेनछ मन । दिनभरि जति टाढा डुलेपनि साँझमा गुँड खोज्दै चराहरु फर्किए जस्तो हुँदो रहेछ हाम्रो मन पनि । आखिरीमा घरको याद आइहाल्ने, गाउँको माया लागिहाल्ने । अनि मिल्ने भएपनि अहिल्यै भुर्रर उडेर जान्थेँ भनेजस्तो लागिरहने ।

भन्नेहरु त भन्लान्, गाउँको माया मारेर विदेश भासियो अनि अहिले चाहीँ खुबै गाउँको माया लागेजस्तो गरि सोधीखोजी गरिरहेको छ भनेर । तर एउटा कुरा आमा, मैले यसो भन्नुहुन्छ की हुँदैन त्यो त थाहा छैन तर विदेशीएको मान्छेलाई गाउँको मायाले जति पिरोल्छ त्यति गाउँमै बस्नेहरुलाई चाहीँ पिरोल्दैन होला सायद । 

उनीहरुले गाउँको माया, देशको माया भनेको के हो भन्ने पनि घोरिएर सोँच्न भ्याएका हुँदैनन् जस्तो लाग्छ मलाई छ । तर जब विदेश जाने निक्र्यौल गरेको एउटा मान्छे लाईनमा उभिएर बडो प्रयासले पासपोर्ट हातमा पार्छ, त्यतिबेला पहिलो पटक चसक्क चस्किँदोरहेछ मन, ढिलो चाँडो म मेरो ठाउँबाट टाढा जाँदैछु भन्ने सोँचेर । 

पासपोर्टमा भिस्सा लागेपछि विदेश जान भनेर सबैसँग बिदावारी भएर, रोइरहेका आफन्तहरुलाई नरुनुभन्दै तर आफु चाहीँ रुँदै एकाविहानै घरबाट निस्किँदा दोश्रोपटक कटक्क कुँडिदोरहेछ मन, यत्ति माया गर्ने आफन्तहरुबाट टाढिएर कहाँ कहाँको बिरानो भूमिमा जान नपरेको भएपनि हुन्थ्यो भन्ने सोँचेर । 

अनि जब सिरिङ्ग हुने गरि भुइँ छोड्दै आफुलाई बोकेको हवाईजहाज त्रिभुवन विमानस्थलबाट माथितिर नेपालकै भूमिमाथी उडिरहेको हुन्छ, त्यतिबेला तेश्रोपटक नमज्जाले भक्कानिँदो रहेछ मन, अब कहिले फर्केर आउनेहोला भन्ने सोँच्दै । त्यसपछिका दिनहरुमा चाहीँ हरेक क्षण, हरेक पल त्यही गाउँ सम्झिँरहँदो रहेछ मन,  यतिबेला गाउँमा के भइरहेको होला भनेर । को के गरिहेका होलान् भनेर । यसरी पनि बढिरहँदो रहेछ गाउँघरको माया ।

विदेशमा बस्नेहरुको लागि त चाडबाडहरु पनि रुवाउनको लागि मात्रै आउँछन् । गाउँमा यतिबेला बुवा—आमाहरु, साथीभाईहरु के पो गर्दै होलान् भन्ने सोँच्दै बस्यो, थाहै नपाईकन् आँखामा आँशु टुप्लुक्क आइसक्दो रहेछ । यहाँ त प्रत्येक सासमा विदेश बिझाउँछ आमा, प्रत्येक धडकनमा गाउँको याद बल्झिन्छ ।

गाउँमा बाढी पहिरो जान्छ, मन दुख्छ परदेशीको ।
सँधै हाँस्ने ओँठहरुमा खुशी लुक्छ परदेशीको । ।
जब कोही विदेशीले तेरो देश गरीब भन्छ
बोल्न केही नसकेर शीर झुक्छ परदेशीको । । ।

(((((((((((उडिरहने चरिलाई हेर्छु, घरको समाचार पर्खिरहन्छु((((((((((

2 comments :

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको अवस्था, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: ceciliagodfreyloanfirm@gmail.com


    तपाईं लामो वा छोटो-अवधिको ऋण खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै प्रेम,

    Ceciliagodfreyloanfirm

    एल
    श्रीमती: सेसिलिया

    ReplyDelete

    Bahakine Man

    Mahabir Biswakarma

    Followers

    Recent Comments

    Recent Comments Widget